कोहलपुर \सामुदायिक कुकुरको व्यवस्थापन स्थानीय सरकार र समग्र राज्यको दायित्व हो। सडकका कुकुरहरूको सिर्जनात्मक, वैज्ञानिक र दीर्घकालीन व्यवस्थापनमा स्थानीय सरकारको भूमिका हुनुपर्नेमा हाल सम्म शुन्य रहेको छ ।
एनिमल नेपाल ,स्पिड एनिमल गैर सरकारी संस्थाले सामुदायिक कुकुरहरुको व्यवस्थापनमा बन्याकरण गर्ने ,शिविर संचालन गर्ने ,विरामी भएका कुकुरलाई उपचार र उद्धार गर्ने गरेको देखिन्छ ।
तर स्थानीय सरकारले हाल सम्म सामुदायिक कुकुरहरुको व्यवस्थापन गर्न कुनै नीति , कानून समेत बनाएको पाईएको छैन ।
विकसित कोहलपुर नगरपालिकामा सामुदायिक कुकुरहरुको व्यवस्थापनमा कुनै बजेट विनियोजन समेत गरेको छैन ।
आर्थिक वर्ष २०७९ \०८० मा कोहलपुर नगरपालिका स्थित पशु सेवा कार्यालयले एक हजार १ सय ९२ वटा सामुदायिक कुकुरहरुलाई रेविज खोप लगाएको पशु सेवा कार्यालयका प्रमुख गोविन्द बहादुर रोकायाले जानकारी गराएका छन।
भने सामुदायिक कुकुरहरुको व्यवस्थापनमा कुनै बजेट विनियोजन नगरिएको स्विकार रोकायले गरेका छन। पछिल्लो समय कोहलपुर नगरपालिकाका विभिन्न बजार क्षेत्र तथा विभिन्न वडाहरु सामुदायिक कुकुरहरुको संख्या बढेको देख्न सकिन्छ तर स्थानीय सरकारसँग सामुदायिक कुकुरहरुको संख्या कति भन्ने तथ्याङ्क समेत छैन ।

एक अध्ययन अनुसार हाल नेपालमा करिब ३० लाख सामुदायिक कुकुर छन्। बाटोमा कुकुरहरूले पैदल हिंड्ने मानिसलाई टोक्ने, चिथोर्ने, झम्टिने गर्दा सडकमा पैदल यात्रा गर्न असुरक्षित महसुस गर्ने गरेका छन्। यस्ता कुकुरहरूकै कारण सवारी साधन दुर्घटनाको जोखिम पनि बढेको छ। यसका साथै कुकुरको टोकाइबाट ज्यान गुमाउनेको संख्या पनि उल्लेखनीय छ। नेपालमा वार्षिक १० देखि १५ जनाले कुकुरको टोकाइबाट रेबिज रोग लागेर ज्यान गुमाउँछन् भने करिब २० हजार व्यक्तिले कुकुरको टोकाइपश्चात् पोस्टएक्सपोजर खोप लिने गरेका छन्।
कुकुर मार्ने कार्य अझै पनि रेबिज प्रकोप नियन्त्रणको लागि गलत आपतकालीन प्रतिक्रियाको रूपमा प्रयोग गरिन्छ। नेपालमा पनि सामुदायिक कुकुरको व्यवस्थापन गर्ने भन्दै विष खुवाई वा अन्य अमानवीय क्रियाकलाप गरी कुकुर मार्ने घटना भैरहन्छन्। नेपालको मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम कसैले पशुपक्षीलाई कुटी, हिर्काई, बोक्न नसक्ने गरी भारी बोकाई वा हानिकारक वस्तु सेवन गराएमा वा अन्य प्रकारको यातना दिएमा पशुपक्षीप्रति निर्दयी व्यवहार गरेको मानी तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने स्पष्ट व्यवस्था छ। त्यसकारण पशु कल्याणको सिद्धान्तलाई सम्मान गर्दै सडक कुकुरहरूको वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन गर्नु आजको आवश्यकता हो। कोहलपुर नगरपालिका वडा नं.११ मा भौतिरिदै सामुदायिक कुकुर । तस्विरः रबि रोकाया











