कोहलपुर\कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेर स्थानीय पाठ्यक्रम लागु गरेसँगै कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले सो पुस्तक पढ्न पाउने भएका हुन् ।
कक्षा १ देखि ५ सम्मका लागि तयार उक्त पाठ्यपुस्तक सोमबार एक कार्यक्रमबिच सार्वजनीकरण गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागि मात्र नभएर कोहलपुरवासी सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका छन।
स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर नगरपालिका बाँकेको पहिलो पालिका बनेको छ । अन्य पालिकाहरूले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याए पनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयनमा ल्याउन सकेका छैनन् ।