नेपालगन्ज : बाँकेका ‘संघीय सरकारी कार्यालय’ ले चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाभित्र ३२ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार बजेट कम खर्च गर्नेमा अधिकांस ठुला आयोजना सम्बन्धी कार्यालय रहेको पाइएको छ ।
संघीय सरकारले बाँकेका विभिन्न कार्यालयका लागि कुल ३ अर्ब ९० करोड ७१ लाख ४७ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा १ अर्ब २६ करोड ३९ लाख ८३ हजार ४ सय १८ रुपैयाँ खर्च भएको छ । कार्यालयको पुस महिनासम्ममा ४७ प्रतिशत मात्र चालु बजेट खर्च भएको पाइएको छ ।
चालुतर्फ १० अर्ब ७९ करोड १ लाख ४८ हजार विनियोजन भएकोमा ५ अर्ब ३ करोड ४६ लाख ४० हजार ४ सय ३० रुपैयाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक एवम् सूचना अधिकारी शरदकुमार बरालका अनुसार राष्ट्रिय गौरवको सिक्टा सिचाइँ आयोजनाका लागि चालु आर्थिक वर्षमा ७५ करोड ४८ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा पुस महिनासम्म १५ करोड ८४ लाख ४६ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको छ ।
यस्तै जिल्लामै रहेको हुलाकी सडक आयोजना कार्यालयले चालु वर्षमा कुल ६२ करोड रुपैयाँ पुँजीगत बजेट प्राप्त गरेकोमा ५० करोड ८१ लाख ८० हजार ३ सय ९९ रुपैयाँ खर्च गरेको सूचना अधिकारी बरालले बताए । सडक डिभिजन कार्यालय बाँकेको चालु वर्षमा ३५ करोड ८१ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १४ करोड २१ लाख ५० हजार १ सय ६४ रुपैयाँ मात्रै खर्च भएको देखिएको छ ।
त्यस्तै पुल योजना पश्चिम सेक्टर नम्बर ३ कार्यालय नेपालगन्जले २९ करोड १५ लाख ६० हजार पुँजीगत बजेट पाएकोमा १५ करोड ७७ लाख ९५ हजार ५ सय ४४ रुपैयाँ खर्च गरेको छ । संघीय सरकार अन्र्तगत रहेका कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को पुस महिनासम्म ११ अर्ब ८३ करोड ७ लाख ३४ हजार ९ सय ४९ रुपैयाँ राजश्व संकलन गरेका छन् । यसअघि गत वर्ष २०७९/०८० को ६ महिनामा ११ अर्ब २८ करोड ८० लाख ७९ हजार ३ सय ६६ रुपैयाँ राजश्व संकलन गरेका थिए ।