११ मंसिर २०८१, मंगलवार

प्राविधिक त्रुटिले अर्घाखाँचीमा असी लाखको सुन्तला नष्ट
  • न्युज मानसराेवर

अर्घाखाँची:अर्घाखाँचीको पाणिनि गाउँपालिका–२, पोखराथोकस्थित शिवशक्ति शीतभण्डारणमा प्राविधिक त्रुटिका कारण ६३ मेट्रिक टन सुन्तला ढुसी लागेर नष्ट भएको अध्ययनले पुष्टि गरेको छ ।

पणेना र पोखराथोकका कृषकले भण्डारण गरेको ९० मेट्रिक टनमध्ये ६३ मेट्रिक टन सुन्तलामा ढुसी लागेर नष्ट भएपछि नेपाल कृषि अनुसन्धान परिषद्ले स्थलगत अध्ययन गरेको थियो ।

६३ मेट्रिक टन सुन्तला कुहिएपछि करिब ८० लाख रुपियाँबराबरको नोक्सानी भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । केन्द्रका कार्यालय प्रमुख बद्धिराज घिमिरेले भन्नुभयो, “भण्डारणमा दुई/तीन वर्षपहिले देखिको ढुसीले गर्दा अहिले समस्या भएको देखिन्छ । भण्डारण चेम्बर (कक्ष) मा आवश्यक औषधीको प्रयोग र प्राविधिक प्रक्रिया नपुगेको देखिन्छ ।”

पञ्जा प्रयोग नगरी शीत भएको समयमा सुन्तला टिपिएको, भण्डारण गर्दा घरलाई निर्मलीकरण सोडियम हाइपोक्लोराइडको मात्रा कम राखेको र अघिल्ला वर्षहरूको ढुसीका जीवाणु नष्ट नभएकाले अहिले ढुसी लागेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । साथै सुन्तलालाई पटक–पटक हातले छुँदा ढुसीले बढी आक्रमण गरेको, भण्डारण घरको तापक्रम र आद्रता पनि नमिलेको घिमिरेले बताउनुभयो । पोखराथोकका कृषक चिरञ्जीवी पौडेलले भन्नुभयो, “ढुसी लागेर सुन्तला नोक्सान भयो । यस्तो पहिला भएको थिएन । हामीले सबै विधि पुर्‍याएर राखेको हो । अहिले प्राविधिक त्रुटि भयो भन्नुहुन्छ । आर्थिक रूपमा ८० लाख रुपियाँ जाति नोक्सान भएको छ ।”

घिमिरेका अनुसार ‘रफ हेन्डलिङ र ट्रिटमेन्ट नमिलेका’ कारण हरियो र निलो ढुसीले सुन्तला कुहिएको हो । कृषक मानबहादुर श्रेष्ठ, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले ९० टन सुन्तला भण्डारण गर्नुभएको थियो । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ विज्ञ उमेश आचार्य, कृषि विकास निर्देशनालय बुटबलका बाली संरक्षण अधिकृत मिलन गैरे, कृषि विकास निर्देशनालय बुटवलका बागवानी अधिकृत सुनयना बरालीलगायतले अध्ययन गरेको थियो ।

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech