बाँकेको नेपालगञ्ज कोहलपुर सडक खण्डमा धमाधम जेव्रा क्रसिङ बन्ने क्रम जारी छ तर जति नियममा बाँध्ने प्रयास गरेपनि दुर्घटना न्युनिकरण भने हुन सकेको छैन । कोहलपुरमा जेव्रा क्रसिङबाट नागरिकहरुले वाटो काटदै गर्दा ट्राफिक प्रहरीले सवारी साधनहरुको स्पिड अनुगमण गर्नुपर्ने देखिन्छ । अटो रिक्सा, नगर वसहरुले ट्राफिक नियमलाई ठाडै उलङ्घन गरेको अहिले यत्रतत्र सर्वत्र देखिदै आएको छ ।
पछिल्लो समय यस्को दोष जति ट्राफिकलाई लगाउदै आम नागरिकहरु पञ्छिदै आएका छन । तर जेव्रा क्रसिङका बिषयमा जानकार राख्नेहरुले समेत कोहलपुरमा जेव्रा क्रसिङको प्रयोग नगर्ने गरेको ट्राफिक प्रहरीसंग तितो अनुभव रहेको छ । जेव्रा क्रसिङमै सवारी साधन रोक्ने, जेव्रा क्रसिङको प्रयोग नगर्ने र सवारी चालकले समेत जेव्रा क्रसिङमा स्पिड कम नगर्नाले कतिपय दुर्घटना समेत जेव्रा क्रसिङमै हुने गरेको छ ।
कोहलपुरका कतिपय अत्यावश्यक स्थानहरुमा स्थानिय सरकारले डिभाईडर खडा गर्ने र अनाबश्यक ठाउमा डिभाईडर राख्नाले पनि सर्वसाधारणले जथाभावि बाटो क्रस गर्नाले पनि थप दुर्घटना निम्तिएको जानकारहरु बताउछन । विद्यालय क्षेत्र भएको एनटिभि चोक, बागेश्वरी क्याम्पस र पेट्रोल पम्प भएको क्षेत्र, पिपल चौतारा, कौशिल्या अस्पताल, डाईनमिक कलेज लगाएतका चहलपहल बढने बाटाहरुमा फगत डिभाईडर राखिएको छ भने जेव्रा क्रसिङ राखिएका अहिलेका अधिकांश स्थानहरु पनि नागरिकहरुलाई पाएक पर्ने स्थानमा नपर्दा नागरिकहरुले जथाभावि बाटो क्रस गर्ने गरेको पाईन्छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोहलपुर नेपालगन्ज सडक खण्डको विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण सुरु गरीएको भएपनि ब्यापक सचेतना फैलाउन नसक्ने हो भने जेव्रा क्रसिङ बनाएको कुनै अर्थ रहदैन । सडक डिभिजन कार्यालय नेपालगन्जसंगको समन्वयमा नेपालगन्जको राँझा देखि कोहलपुर सम्मको बिभिन्न २५ स्थानमा जेब्रा क्रसिङ र सेन्टर लाइनको निर्माण कार्य सुरु गरीएको आफैमा स्वागतयोग्य कुरा हो तर बनाउनका लागि मात्र जेव्रा क्रसिङ कि नियममा बाँध्न यो चुनौती सवैसामु आएको छ ।
दुर्घटना न्यूनीकरण गर्नु सबैको चासोको विषय हो नेपालगन्ज, कोहलपुर सडकखण्डमा जेब्रा क्रसिङ निर्माणको कार्य स्वागत योग्य कुरा भएपनि बजार क्षेत्र, विद्यालय, र बढी भिडभाडा हुने क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरि दुर्घटना न्यूनीकरणमा सघाउ पुग्ने भएपनि लामो दुरीसम्म डिभाईडर रहदा विच सडकबाटै वाटो क्रस गर्नेहरु बढछन भन्ने हेक्का स्थानिय सरकार र सुरक्षा निकायले बुझन जरुर छ ।
कोहलपुरको सौन्दर्यकरणलाई चुनौती दिंदै रेलिङहरु काटिने जोडने, डिभाईडरहरु राख्ने हटाउने जस्ता क्रमले ट्राफिक ब्यबस्थापनलाई समेत कमजोर पार्दै आएको छ । बनेका संरचनाको संरक्षण गर्दै ट्राफिक ब्यबस्थापन, दुर्घटना न्युनिकरणमा सुरक्षा निकाय, नागरिक र स्थानिय सरकारले हातेमालो गर्न सके मात्र ट्राफिक नियम र जेव्रा क्रसिङले मुर्तरुप लिन सक्ला ।