नेपालगन्ज: भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसदमा छलफल भइरहेको बताएका छन् ।
बाँकेको चप्परगौडी हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको आज अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताए । उनले उक्त सडकखण्डमा पर्ने वन क्षेत्रको समस्या पनि समाधान गरिने बताए । सडकको कामको प्रगति र कठिनाई बुझ्न आफू स्थलगत अनुगमनमा आएको बताउँदै मन्त्री ज्वालाले द्रुत गतिमा गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
चालू आर्थिक वर्षमा उक्त सडकका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख निरज शाक्यले अहिले दायाँबायाँ पक्की नाली निर्माण, माटो पटान लगायतको काम भइरहेको जानकारी दिए ।