काठमाडौँ: मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा आइतबार नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । प्रतियोगिताकाको दोस्रो खेलमा नेपालले भुटानको सामना गर्नेछ । उक्त प्रतियोगिता शनिबारदेखि मलेसियामा सुरु भएको हो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।
पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मालदिभ्सले भने १८.१ ओभरमै अलआउट हुनुअघि ३० रनमात्र बनाउन सकेको थियो ।
प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् ।
समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।
उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन् ।