११ असार २०८२, बुधबार

नेपालगञ्ज उपमहानगरले थाल्यो सहकारीको अनुगमन
  • न्युज मानसराेवर

नेपालगञ्ज: नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी सुधार्ने अभियान अन्तर्गत अनुगमन थालेको छ। सहकारीहरूलाई विधिसम्मत सञ्चालनार्थ सचेत बनाउँदै आएको सहकारी शाखाले यस वर्ष पनि अनुगमन थालेको हो ।

सहकारी शाखाले चालू आर्थिक वर्षमा पनि सहकारीहरूको अनुगमन गर्न सुरु गरेको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताउनुभयो । सहकारी शाखाले अनुगमन गर्नुअघि यसै आर्थिक वर्षमा वित्तीय सुशासन कायम गराउन सात दिने लेखा तालिम प्रदान गर्नुका साथै स्कुले विद्यार्थीलाई सहकारी पनि पढाएको छ ।

मङ्गलवार अनुगमन गरिएको न्युरोड बौद्ध गुम्बा नजिकैको कृष्णसार कृषि सहकारी संस्थामा कैफियत भेटिएको छ । धेरै कैफियत भेटिएपछि कृष्णसारलाई ‘सफाइको मौका’ दिइएको छ । शाखा प्रमुख रानाका अनुसार कैफियत पुष्ट्याइँका लागि १५ दिनको मौका दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी ऐन २०७४ को दफा ८१ को उपदफा २ (ख) र (ग) को कैफियतमा रु. ३,००,००० सम्मको जरिवाना किन नगर्ने भन्ने कुराको पुष्ट्याइँसहित १५ दिनभित्र सफाई पेश गर्न निर्देशन दिइएको छ । सफाई दिन नसके कारबाही गरिनेछ । निरीक्षणका क्रममा देखिएका कैफियतहरू सुधार गर्न २५ दिन समय दिइएको रानाले बताउनुभयो ।

दुई वर्षदेखि चार खाता अपडेट नभएको, सहायक खाता नभएको, कर्जा फाइल व्यवस्थित नभएको, कर्मचारी नियुक्त नभएको, विनियम संशोधन नभएको, दैनिक भौचर नउठाएको, लेखा समितिको माइन्युट नभेटिएको, लेखा परीक्षकलाई नियुक्ति पत्र नदिएको, साधारणसभामा ५१ प्रतिशत उपस्थिति नपुगेको, सम्पत्ति शुद्धीकरण कार्यविधि नभएको, केवाइएम फाराम नभरेको लगायतका कैफियत भेटिएको छ ।

सहकारी शाखा प्रमुख रानाले सहकारीलाई विधिसम्मत चलाउन दुई वर्षदेखि सचेतीकरण गर्दै आएको बताउँदै अब पनि लापरबाही भेटिए सहकारी ऐन बमोजिम कारबाही गरिने प्रष्ट पार्नुभयो । उहाँले सच्चिनका लागि थुप्रै मौका दिइएकाले अब ‘एक्सन’मै उत्रेको बताउनुभयो । गत वर्ष पनि अनुगमन गरिएकोमा कैफियत सच्याउन सचेत बनाइएको थियो ।

  • २ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech