एजेन्सि: भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा अनुसन्धान थालिएको महिला थाना प्रहरीले जनाएको छ।
यसो भन्दा पतिले बारम्बार गाली र कुटपिट मात्र गर्ने गरेको ती महिलाले एफआरआईमा उल्लेख गरेकी छन्। ‘यति मात्र होइन, म आमाबुवाको घरमा जाने भन्दा पतिले धम्की दिन्थे– ‘घरबाट निस्किस् मात्र भने तँ र तेरो परिवारैलाई मारिदिन्छु। बल्लबल्ल हजुरबुवा बिरामी भएको बहानामा म माइती आएकी छु, तर अहिले पनि श्रीमानसहित ससुराले मलाई लगातार धम्की दिइरहेका छन्’, पीडित महिलाले जाहेरीमा लेखेकी छन्।
यस विषयमा एफआइआर दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको महिला प्रहरी चौकीकी अधिकृत अदिती कुमारीले बताइन्। ‘जाहेरीमा पीडित महिलाले विवाहपछि श्रीमानले श्रीमान्–श्रीमती सम्बन्ध कायम नगरेको बताएकी छन्। धेरै सम्झाइबुझाइ गर्दा पनि काम लागेन, अन्ततः एफआईआर दर्ता गर्न बाध्य भएँ, पतिसँगै जाहेरीमा नाम भएका सबैले पतिलाई सम्झाउनुको सट्टा उल्टै मलाई दबाब दिए भनेर लेखेकी छन्’, अधिकृत अदितीले भनिन्।
पीडित महिलाले पतिसहित परिवारका ६ जनाविरुद्ध जाहेरी दिएकी छन्। पीडित महिलाको जाहेरीका आधारमा भारतीय दण्ड संहिताको धारा ३४१, ३२३, ४९८ए, ३७९, ५०४, ५०६, ३४ अन्तर्गत एफआईआर दर्ता गरी मुद्दाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।