७ मंसिर २०८१, शुक्रबार

एचसीआरसी हस्पिटल नेपालगञ्जमा अव आई.यु.आई. सेवा

पुरुषको बिर्यलाई प्रविधिको माध्यमबाट महिलाको गर्भाशयमा राख्ने प्रविधि

  • न्युज मानसराेवर

नेपालगन्ज : नेपालगन्जमा रहेको एचसीआरसी हस्पिटलले निसन्तान दम्पत्ती का लागि नयाँ प्रविधि ल्याएको छ । हस्पिटलले यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर पश्चिम नेपालमै पहिलो पटक आई.यु.आई. सेवा विस्तार गरेको हो ।

कृत्रिम गर्भाधानको पहिलो प्रयासका रुपमा पुरुषबाट निकालिएको बिर्यलाई प्रविधिको माध्यमद्धारा राम्रोसँग ल्यावमा तयार पारी दक्ष तथा अनुभवी स्त्रीरोग विशेषज्ञले उपयुक्त समयमा महिलाको गर्भाशयमा राख्ने प्रविधिलाई आई.यु.आई. सेवा भनिन्छ ।

उक्त हस्पिटलमा वरिष्ठ महिला तथा प्रसुती विषेशज्ञ डा. मञ्जु बिसी शाहको नेतृत्वमा रहेको दक्ष चिकित्सक टिमले आई.यु.आई. सेवा प्रवाह गर्ने जनाइएको छ । एक वर्षभित्र अत्याधुनिक आई.भि.एफ. ल्याव स्थापना गर्ने लक्ष्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

IUI Service HCRC Hospital NPJ1708446392.jpg

‘महिलाले गर्भधारण गर्ने कुरालाई सामान्य रुपमा हेर्दा सरल जस्तो देखिएता पनि सबै महिलाको लागि सरल र सहज नहुन सक्छ, दम्पतीमा हुने विभिन्न समस्याको कारणले गर्दा सन्तान उत्पादनमा बाधा पुगेको हुन्छ,’ डा. शाहले भनिन् ‘हाल नेपालमा सहेत निसन्तान, बाँझोपनको समस्या भित्र-भित्र गोप्य रुपमा धेरै रहेको देखिएको छ, सन्तान प्राप्तीको लागि दम्पतीले सही जानकारी नपाउँदा धेरै दुःख र पैसा खर्च गर्न बाध्य भएको अवस्था छ ।’

प्रविधिको विकास भएतापनि परम्परागत झारफुक प्रतिको विश्वासलाई प्राथमिकता दिने र प्रजननका बारेमा खुलेर कुरा आदान–प्रदान गर्न अनकनाई रहेको परिवेशमा प्रविधिलाई समयमै प्रयोगमा ल्याउन नसकेर दुःख पाउने गरेको देखिन्छ । उमेर बढेसँगै लगभग ४० वर्षमाथि पुगेपछि मात्र ‘प्रविधि छ रे’ भनेर दम्पतीहरु बुझ्नलाई अस्पताल आउने गरेको बताइन्छ ।

HCRC Hospital Nepalgunj Vawan1708446390.jpg

फेसबुक, टिकटक, युट्यूबसँगै सामाजिक सञ्जालको प्रयोग अत्याधिक रुपमा बढेसँगै अनेकौ किसिमका सही र गलत सूचना तथा जानकारीबारे आजकाल जताततै बहस र कुराकानीका बिषय हुन थालेका छन् । प्रजनन सम्बन्धीका बिषयमा आमा बुवा सासु ससुराले पनि छोरा बुहारी र छोरी ज्वाईसँग खुलेर आफुले सामाजिक सञ्जालमा देखेका र हेरेका कुराकानी गर्ने परिस्थिती हुदै गएको छ ।

जसले गर्दा गर्भधाण र बाँझोपन सम्बन्धी समस्या भएका दम्पतीको संख्या अस्पतालमा बढिरहेको पाइन्छ । ‘गर्भधारण सहयोगी प्रविधि धेरै किसिमका हुन्छन् र हरेक दम्पतीको चेक जाँच अनुसार समाधानको लागी विभिन्न प्रविधि रहेका छन्, त्यस मध्ये आई.यु.आई.एक हो, आई.यु.आई. सफल नभएको खण्डमा सन्तान प्राप्तिको लागि आई.भि.एफ. गरिन्छ,’ चिकित्सकहरु भन्छन् ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech