नेपालगञ्ज: प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधि मानवी फुटबल क्लब नेपालगन्जले जितेको छ । नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा कोहलपुर ११ लाई १ को बिरुद्ध ६ गोलले पराजित गर्दै मानवी क्लबले उपाधि जितेको हो ।
उपाधिसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर ११ ले नगद रु. १५ हजारसहित पदक र कप प्राप्त गरे । मानवी क्लबका सन्तोष महतरा प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुन मगर उत्कृष्ट गोलरक्षक घोषित भए ।
बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सूर्यमणि अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबलकर्मी जनक केसी ज्ञानमणि अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए । रोयल नेपालगन्ज क्लबको आयोजनामा शनिवारदेखि शुरु भएको प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो ।