काठमाडौँ: आन्दोलनरत दुग्ध उत्पादक किसानले विभिन्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । आन्दोलनको घोषित कार्यक्रम अनुसार नै उनीहरुले देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यस्ता छन् दुग्ध उत्पादक किसानका माग
–दुधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् ।
–नेपाली किसानले उत्पादन गरेको सम्पूर्ण दुध खरिद गर्ने व्यवस्था मिलाइयोस् ।
–भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गरियोस् ।
–दुधको खरिद मूल्यमात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गरियोस् ।
–बिक्री नभएको दुधलाई पाउडर बनाइ देशलाई मिल्क होलिडे हुनबाट रोकियोस् ।
–नेपाललाई खोरेत रोग मुक्त घोषणा गरी दुध तथा दुधजन्य उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने गरी बजारको खोजी गरियोस् ।
–नेपाल प्रहरी तथा नेपाली सेनालगायतका निकायहरूले नेपाली दुधको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था गरियोस् र त्यहाँ नेपाली किसानबाट उत्पादित दुध र दुग्धजन्य पदार्थ खरिद गरियोस् ।
–बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा महत्त्वपूर्ण योगदान दिने दुधलाई विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रममा समावेश गरियोस् । यस कार्यक्रमलाई सफल पार्न नेपाली कृषकबाट उत्पादित दुध खरिद गरियोस् ।
–लम्पी स्किन रोगबाट पशुमा क्षति पुगेका किसानलाई तोकिए बमोजिमको राहत सहज र सरल विधिबाट उपलब्ध गराइयोस् साथै पीडित किसानलाई राहत र पुनर्स्थापना गर्ने गरी विशेष प्याकेज कार्यक्रम ल्याइयोस् ।
–बीमित किसानहरूको बीमा रकम भुक्तानी गर्ने व्यवस्था गरियोस् । भुक्तानी नगर्ने बीमा कम्पनीलाई कारबाही गरियोस् ।
–सरकारले भुक्तानी गर्नुपर्ने अनुदान बीमाको रकम यथाशीघ्र उपलब्ध गराई बीमित किसानको बीमा रकम भुक्तानी गरियोस् र अनुदान बीमा सुचारु गरियोस् ।
–निम्न आय भएका नागरिकलाई आधार कार्ड प्रदान गरी निःशुल्क तथा न्यून मूल्यमा दुध तथा दुग्धजन्य पदार्थ वितरण गरियोस् ।
–लागत मूल्य घटाउने कार्यक्रम अन्तर्गत दुधमा कम्तीमा रु. ५ (पाँच) सबै प्रदेशमा किसानलाई अनुदान दिइयोस् साथै पशु आहार, औषधि लगायतका पशुपालनसँग सम्बन्धित वस्तुको मूल्यवृद्धि अविलम्ब नियन्त्रण गरियोस् ।
–निर्यात गरिने दुग्धजन्य पदार्थमा अनुदान व्यवस्था गरियोस् ।
–अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि छिमेकी मुलुक तथा अन्य देशहरूसँग कुटनीतिक पहल गरी दुग्ध तथा दुग्धजन्य पदार्थ निर्यात गर्ने व्यवस्था मिलाइयोस् ।
–कानुनद्वारा समग्र कृषि उत्पादनहरूको समर्थन मूल्य निर्धारण गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था गरियोस् ।