कोहलपुर\बाँके कोहलपुर-१ कौशिलानगरकी शीतला परियार सहकारी अभियन्ता हुन्। परियार वडा नम्बर १ की दलित महिला सदस्यसमेत रहेकी उनी आफूलाई गृहिणीका रूपमा चिनाउन रुचाउँछिन्। विभिन्न आरोहअवरोह पार गरेकी ५० वर्षीया परियारसँग लामो समय चुलोचौकोमा बिताएको अनुभव छ।
चुलोचौकीदेखि, अभियन्ता, सहकारीकर्मी र जनप्रतिनिधिका रूपमा योगदान दिँदै आएकी परियार पछिल्लो समय पञ्चेबाजा संरक्षण अभियानमा सक्रिय छिन्। तीन वर्षदेखि शीतलासहितको महिला समूह लोपोन्मुख पञ्चेबाजा संरक्षण अभियानमा जुटेको हो।
कौशिलानगरमा लाली गुराँस पञ्चेबाजा संरक्षण समूह गठन गरी नारीहरू संस्कृति संरक्षण अभियानमा लागेका छन्। बस्तीमा दलितमा पनि दमाईँ (परियार) को बाहुल्य छ। बाजा बजाउने पनि सबैजसो दमाईँ थरका छन्। समूहमा ३० जना सदस्य छन्। १५ जना महिला र १५ जना पुरुष। महिला र पुरुष भिन्नाभिन्नै टिममा रहेर पञ्चेबाजा बजाउँछन्।
रूपकला परियार (३८) उक्त समूहकी अर्की सदस्य हुन्। महिला समूहकी उपाध्यक्षसमेत रहेकी परियारले पञ्चेबाजा बजाउन थालेको तीन वर्ष भयो। त्यसअघि उनी चुलोचौकोमा सीमित थिइन्। उनको जिम्मामा सम्पूर्ण घरव्यवहार मिलाउनु थियो। अहिले भने उनको जिम्मेवारीमा संस्कृति संरक्षण परेको छ।
‘धेरै पुरुष त वैदेशिक रोजगारीमा छन्। हाम्रो संस्कृति लोप हुन लाग्यो’, उनले भनिन्, ‘बाजा बजाउने मान्छे भेटिन छाडेपछि महिला सक्रिय भयौँ। अहिले समूह गठन गरेका छौँ। विभिन्न ठाउँमा गएर बजाउन थालेका छौँ।’ उनी दमाहा बजाउँछिन्।
पुनम परियार उक्त समूहकी कान्छी सदस्य हुन्। उनी पनि दमाहा बजाउँछिन्। २५ वर्षीया परियार संस्कृति संरक्षण अभियानमामा जोडिन पाउँदा खुसी छन्। घरपरिवारको काम भ्याएर उनी समूहमा सक्रिय हुने गरेकी छन्।
झ्याली बजाउन सिपालु तिलसरा परियार भन्छिन्, ‘आँट गरे के हुँदा रहेनछ र? हामी सबैले आँट गर्यौँ। अहिले निर्धक्क भएर बजाउन सक्छौँ। बानी परिसक्यो।’ उनीहरूको यस्तो प्रयासले संस्कृति संरक्षणमा इँटा थप्ने काम त गरेको छ नै। आम्दानीसमेत हुन थालेपछि अरू महिला पनि यसतर्फ आकर्षित हुन थालेका छन्।
बाँकेका गाउँमा हिजोआज पुरुष होइन, महिलाले पञ्चेबाजा बजाउँछन्। पञ्चेबाजा बजाउने चलन हराउँदै गएपछि कोहलपुर र राप्तीसोनारीका महिला यसको संरक्षणमा सक्रिय भएका हुन्। उत्सव, मेला, पर्व, विवाह, व्रतबन्ध र विशेष अवसरमा पञ्चेबाजा बजाउने भेटिँदैनन्। त्यसैले बाजा लोपोन्मुख अवस्थामा छ। महिलाले थरीथरी धुन निकालेर स्थानीयको मन जितिरहेका छन्। पञ्चेबाजासँग गाउँगाउँमा गुञ्जिरहेको छ, महिला स्वतन्त्रता पनि।
लालीगुराँस पञ्चेबाजा समूहका अध्यक्ष गगने दमाईँ पञ्चेबाजाको संरक्षणका लागि संस्थागत रूपमा अघि बढेको बताउँछन्। उनले बाजा बजाउनेका लागि भिन्नै पोसाकको व्यवस्था रहेको बताए। बोलाएको ठाउँमा बाजा बजाउन जाने गरेको उनको भनाइ छ।
बाजा बजाउने टोली बाँकेमा मात्रै सीमित छैन। विभिन्न क्षेत्रसँगै सुर्खेत र सीमावर्ती रुपैडियासम्म पुग्ने गरेको छ। अरू बेला चुलोचौकोमा सीमित हुने महिला अहिले विभिन्न कार्यक्रम तथा मेलामा बाजा बजाउन व्यस्त देखिन थालेका छन्।
राप्ती सोनारीमा क्षेत्री र दलित समुदायका महिला सक्रिय
बाँकेकै राप्ती सोनारी-९ ढकेरीमा क्षेत्री र दलित समूहका महिला सम्मिलित कलासंस्कृति तथा पञ्चेबाजा संरक्षण समिति गठन गरिएको छ। समूहमा महिला मात्रै छन्। उनीहरूले नै समूहको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। यो समूह जिल्ला प्रशासन कार्यालय बाँकेमा १६९९औँ गैरसरकारी संस्थाका रुपमा दर्ता भएको छ।
स्थानीय समुदाय र स्थानीय सरकारको सहकार्य समूह स्थापना गरिएको हो। समितिका निर्देशक कवीन्द्र परियार संस्कृति संरक्षणमा गैरदलित समुदायको समेत चासो हुनु सकारात्मक भएको बताउँछन्।
चुलोचौकोमा सीमित महिला अहिले बाजा बजाउन थालेका छन्। उनीहरुलाई सीपसमेत सिकाइएको छ। बाजा किन्न र सीप सिक्न स्थानीय सरकारको आर्थिक सहयोग रहेको समूहले जनाएको छ।
राप्ती सोनारीमा रहेको पञ्चेबाजा संरक्षण समितिका सदस्यलाई सीपयुक्त बनाउन वडा नम्बर ९ को कार्यालयले आर्थिक सहयोग गरेको छ। कला संस्कृति तथा पञ्चेबाजा संरक्षण समितिको व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले पनि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त समूह राप्ती सोनारीकै पहिलो समूहसमेत हो।
बाँकेका कोहलपुर र राप्ती सोनारीमा मात्रै होइन बैजनाथ गाउँपालिकामा समेत स्थानीय समूह रहेका छन्। बैजनाथमा मिश्रित बसोबास छ। त्यहाँ कर्णालीका जिल्लाबाट बसाइँ आएकाहरुले संस्कृति संरक्षणका लागि काम गरिरहेका छन्।
गाउँपालिकामा प्रायः जुम्लीबाजा र रुकमेली बाजाको माग बढी छ। बैजनाथमा कर्णाली देउडा समाज छ। रुकुमेली सांस्कृतिक संरक्षण समिति रहेको छ। सिम्ताली एकता समाजले लामो समयदेखि संस्कृतिक संरक्षणमै काम गरिरहेको छ।
यी टोलीलाई विवाहको सिजनमा भ्याइनभ्याई हुन्छ। जताततैबाट बोलाउँछन्। महोत्सवको र्यालीमा बोलाइन्छ। कलासंस्कृति तथा पञ्चेबाजा संरक्षण समितिकी उपाध्यक्ष निरु दमाईँ भन्छिन्, ‘हामीले हाम्रो समुदायलाई समेटेर टिम बनाएका छौँ। कोही म पनि बाजा बजाउँछु भनेर आयो भने उसलाई पनि राख्छौँ।’
समूहमा गैरदलित समुदाय पनि सदस्य छन्। आफूले जानेको कला फैलाउन महिला साथसाथै अगाडि बढाएर समितिले उदाहरणीय काम गरेको छ। पञ्चेबाजा अर्थात् पाँच बाजाहरूको समूह। यो बाजा नेपालको पहाडी भेकमा बजाउने गरिन्छ। पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्छन्।
नेपाली धार्मिकएवं सांस्कृतिक बाजाका रूपमा प्रयोग हुँदै आएको पञ्चेबाजा मौलिक संस्कृतिको धरोहर हो। यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ। विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा-आजालगायतका शुभ कार्यमा यो बाजाको बढी प्रयोग हुन्छ। मंगल धुन बजाउन पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो।परम्परागत रूपमा नेपालका दमाईँ समुदायले मात्र यो बाजा बजाउने गर्थे। हाल यो बाजा विभिन्न समुदायका पुरुष र पछिल्ला दिनमा महिलाहरूले पनि व्यावसायिक रूपमा बजाउन थालेका छन्।