३० श्रावण २०८२, बिहीबार

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला
  • न्युज मानसराेवर

बाँके\बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र बाह्य पर्यटकका लागि आफ्ना सबै वनपथ (सफारीका लागि बाटो) खुला राखेको छ । निकुञ्ज घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने अवस्था रहेको बताउँदै निकुञ्जभित्र अहिले वनपथ चालु अवस्थामा रहेको जानकारी दिए ।

“निकुञ्जभित्र बाघको सङ्ख्या चारबाट बढेर अहिले २५ पुगेको छ । आहारा प्रजातिको सङ्ख्या पनि बढेको छ”, उनले भने, “गर्मीयामको समयमा निकुञ्जभित्र वन्यजन्तुलाई पिउने पानीको अभाव हुन नदिन चालु आर्थिक वर्षमा थप दुईवटा पोखरी निर्माण गर्न लागेका छौँ ।”

निकुञ्जको जलसैनी क्षेत्रमा बाघले पौडी खेल्न सक्ने योजनामा निकुञ्ज रहेको संरक्षण अधिकृत शाहको भनाइ छ । “हामीले जलाशय र सिमसारको विकास गर्दै जाने योजना अगाडि बढाइरहेका छौँ”, उनले भने, “यसअघि कुनै पनि आर्थिक वर्षमा पाँच सयभन्दा बढी पर्यटक यहाँ घुम्न आएको तथ्याङ्कमा उल्लेख छैन । चालु आवमा कम्तीमा पनि दुई हजारभन्दा बढी पर्यटकको सङ्ख्या पुर्याउने प्रयासमा छौँ ।”

प्रमुख संरक्षण अधिकृत शाहले पर्यटनलाई केन्द्र विन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसेमैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको जानकारी र्दिए ।

स्थापनाको १३ वर्षसम्म निकुञ्ज क्षेत्रमा संरक्षणसँगै पूर्वाधार निर्माणको काम भएको र अब भने पर्यटन प्रवर्द्धनको कामलाई केन्द्रमा राखिएको उनको भनाइ छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।

  • १७ चैत्र २०८०, शनिबार प्रकाशित

  • Nabintech