१० मंसिर २०८१, सोमबार

६० वर्ष सेवा पुरा गरेका नेपालगञ्जका महिला स्वास्थ्य स्वमंसेवकलाई स-सम्मान बिदाई

स्वास्थ्य शिक्षा जागरणमा महिला स्वास्थ्य स्वयंसेवकको योगदान अतुलनीय

  • न्युज मानसराेवर

नेपालगन्ज:  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्वास्थ्य शिक्षा जागरणमा महिला स्वमंसेवकहरुले  पुर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन् । स्वास्थ्य कार्यालय बाँकेले आज नेपालगन्जमा ६० वर्ष पूरा भई सेवाबाट बिदाई हुने महिला स्वास्थ्य स्वमंसेवकलाई स-सम्मान बिदाई गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले न्यून सेवामा पनि स्वास्थ्य शिक्षा जागरणमा महिल स्वमंसेवकहरुले पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको बताए ।

उन्ले मातृमृत्युदर तथा शिशु मृत्युदरमा कमी ल्याउन महिला स्वमंसेवकहरुले सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गरे । `न्यून सेवा सुबिधामा पनि महिला स्वमंसेवकहरुले स्वास्थ्य जागरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, ‘उनले भने-`यसलाई अझै प्रभावकारी बनाउने वातावरण सिर्जना गर्न मन्त्रालय लागिपरेको छ ।´ उनले महिला स्वमंसेवकहरुको सेवा सुबिधा थप्ने सवालमा प्रदेश सरकार सकारात्मक भएपनि बजेट अभावका कारण नसकिएको उल्लेख गरे । तर, सेवा निवृत्त हुने स्वमंसेवकहरुलाई भने प्रदेश सरकारले जनही ५० हजार दिने अभियान सुरु गरेको उनले बताए । त्यसको सुरुवात बाँकेबाट गरिएको पनि मन्त्री खनालले जानकारी दिए । `सेवा निवृत्त महिला स्वमंसेवकको सम्मान स्वरुप प्रदेश सरकारले चालू आर्थिक वर्षदेखि ५० हजार दिन सुरु गरेको छ,” उनले भने-`अब यसलाई निरन्तरता दिनुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ ।´

प्रदेशमा करिब नौ हजार महिला स्वमंसेवक छन् । ती मध्ये एक वर्षमा करिब चार सय सेवा निवृत्त हुने गरेको तथ्यांक छ । संघीय सरकारले सेवा निवृत्त हुने महिला स्वास्थ्य स्वमंसेवकलाई २० हजार दिने गरेको छ । यो हिसाबले लुम्बिनी प्रदेशमा सेवा निवृत्त हुने स्वमंसेवकले ७० हजार पाउँछन् ।  नेपालगन्ज उपमहानगरपालिकाले भने आफ्नो नगर क्षेत्रका स्वमंसेवकलाई थप ५० हजार दिने गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । नगर क्षेत्रका सेवा निवृत्त महिला स्वास्थ्य स्वमंसेवकले १ लाख २० हजार पाउनेछन् ।

बाँकेमा चालू आर्थिक वर्षमा ३४ जना महिला स्वास्थ्य स्वमंसेवक सेवा निवृत्त हुँदैछन् । नेपालगन्ज उपमहानगरपालिकामा १०, जानकीमा ४, कोहलपुरमा १, राप्तीसोनारीमा ५, बैजनाथमा २, डुडुवामा ५, खजुरामा ६ र नरैनापुरमा १  जना गरी ३४ जना सेवा निवृत्त हुँदैछन् । आज नेपालगन्ज र जानकीका महिला स्वास्थ्य स्वमंसेवाको स-सम्मान बिदाई गरिएको हो ।  नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्टको सभापतित्वमा भएको सम्मान तथा बिदाई कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्यहरु सुशीला नेपाली, मीना सिद्दिकी, प्रदेश स्वास्थ्य सचिव डा.जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले बोलेका थिए ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित

  • Nabintech