बर्दिया:नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै तीव्र विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनु पर्ने जोडमा छिन् भने रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा छन् । यस क्रममा उनले संसदीय दलका नेता सहितका पाँच मन्त्रीलाई तत्काललाई कमल बहादुर शाहको सरकारलाई जोगाउनु पर्ने बताएका हुन् ।
‘यही सरकार जोगाउने गरी अघि बढ्न हामीलाई भनिएको छ । उहाँ (रेशम)ले विश्वासको मत दिनु र सरकार जोगाउनु भन्नु भएको छ’ बैठकमा सहभागी एक मन्त्रीले बताए । रेशमको निर्देशन पछि नागरिक उन्मुक्ति पार्टीले अहिले ११ बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । ११ बजेको बैठकले विश्वासको मतका विषयमा छलफल गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए । ‘हामीले बैठक बोलाएका छौँ । विश्वासको मतका विषयमा बैठकमा छलफल गरेर निर्णय गर्छौ’ उनले भने ।