नेपालगन्ज : बाँकेका अधिकारकर्मी र कानून ब्यवसायीले भयरहित बातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार संरक्षण गर्न अधिकारकर्मीको अपिल गरेका छन् ।
अधिकारकर्मीहरूले संयुक्त रूपमा अपिल जारी गर्दै पछिल्ला दिनमा बाँके जिल्लामा लगातार भएका अपराधिक घटनाहरूबाट आम नागरिकको शान्ति सुरक्षामा खलल् रहेको पुगीरहेको घटना प्रति हामी मानव अधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । ‘उल्लेखित घटनाले आम नागरिकहरूको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल् पुग्न गएको प्रति हामी सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउन चाहान्छौं,’ अधिकारकर्मीद्वारा जारी अपिलमा भनिएको छ ।
नेपालगन्ज – २१ विर्तागाउँका २२ वर्षीय एक युवकलाई ०८० चैत्र १८ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बेला भएका झडपहरू, दिनदहाडै भएका हत्याका घटनाहरूले नागरिकको जिउँ ज्यान र धनको सुरक्षामा गम्भीर असर पारेको छ । नेपालगन्ज, खजुरा लगायतका क्षेत्रमा भएका हत्या हिंशाका घटनाले स्वतन्त्रपूर्वक, भयरहित वातावरणमा बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार उपभोगमा असर पर्दै गएको अधिकारकर्मीले बिज्ञप्तीमा जनाएका छन् ।
नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगन्ज उच्च अदालत बार एशोसिएसन अध्यक्ष चित्र बहादुर शाही, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष बिश्वजित तिवारी, मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बल बहादुर चन्द, बाँके जिल्ला बारका पूर्व अध्यक्ष अधिवक्ता केवल सिंह थारुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।