नेपालगन्ज:नेपाल–भारत सीमाको जमुनाह नाकामा रहेको प्रवेशद्वार सँगै पर्यटन सूचना केन्द्र रहेको छ । प्रदेश सरकार मातहत रहेको सूचना केन्द्रमा सेवाग्राही शुन्य प्रायः हुने गरेको छ । अध्यागमन जस्तै कामविहीन उक्त कार्यालयमा पर्यटक लागि सूचना दिने कुनै सामाग्री राखेको पाइँदैन ।
जमुनाह नाका भारत तथा तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिदा उनीहरूलाई सूचना केन्द्र मार्फत जानकारी लिन सहज हुनसक्छ । तर, सूचना केन्द्रमा कुनै त्यस्तो जानकारी रहेको पाइँदैन । फाट्टफुट्ट आउने भारतीय नागरिक सूचना केन्द्र छिरिहाले मौखिक रूपमा नै कर्मचारीले जानकारी दिने गरेका छन् । औपचारिकताका लागि मात्रै पर्यटन सूचना केन्द्र सञ्चालन गरिएको जस्तो त्यहाँ पुग्दा जो कोहीले अनुभव गर्न सक्छन् ।
प्रदेश सरकारले पर्यटन व्यवसायको स्थापना, सुधार, विकास, बिस्तार प्रवद्र्धन तथा संरक्षण र पर्यटन सेवा सुविधा बिस्तार गर्न समन्वय तथा सहजीकरण गर्न पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद् सञ्चालनमा ल्याएको हो । परिषद्ले पर्यटक तथ्यांक संकलन र अभिलेखिकरण गर्ने, जनशक्ति विकास गर्ने, आवश्यक नयाँ जनशक्ति तयार गर्ने र पर्यटन स्थलहरूको पर्यावरण संरक्षण गर्ने लगायतका कार्य गर्ने भएपनि जमुनाह स्थित सूचना केन्द्र गतिविधिको कुनै सूचना पाइँदैन ।
नेपालको बाँके भारत उत्तर प्रदेश सँग जोडिएको जिल्ला हो । धार्मिक पर्यटकहरू उल्लेख्य मात्रामा भारतबाट दैनिक जसो नेपाल आउँछन् । काठमाडौं स्थिति पशुपतिनाथ देखि मानसरोवर जानेहरूले समेत यो रुटका प्रयोग गर्छन् । तर, पर्यटन सूचना केन्द्रमा भारतीय धार्मिक तथा घुम्न आउने पर्यटक जानकारी लिन पुगेको पाइँदैन ।
दुई जना करार कर्मचारी मात्रै रहेको जमुनाह नाकाको पर्यटन सूचना केन्द्र कामविहीन जस्तो देखिन्छ । नेपाल प्रवेशको द्वारमै पर्यटन सूचना केन्द्रको कार्यालय रहेपनि मेटिएको बोर्डका कारण पनि नेपाल भित्रिने पर्यटकले सूचना लिन त्यहाँ नपुगेको हुनसक्ने अनुमान गरिन्छ । सीमित जनशक्ति र सानो ठाउँमा सञ्चालित सूचना केन्द्रबारे नेपाल भित्रिने पर्यटकले जानकारी पाउने अवस्था नै देखिंदैन । ‘बाहिरबाटै हेर्दा पर्यटकीय क्षेत्र चिन्हित नक्सा, बोर्ड तथा कार्यालय र त्यसले गर्ने कामबारे उल्लेख भएको भए भारतबाट आउने पर्यटक त्यहाँ सहजीकरणका लागि जान सक्थे होलान्, स्थानीय समेत नदेख्ने जस्तो कार्यालय बाहिरबाट आउनेले कसरी थाहा पाउन सक्लान् ?’, पर्यटन व्यवसायी भन्छन्, ‘कम्तिमा एकछिन बिश्राम गर्ने र पर्यटकीय क्षेत्रबारे टाढैबाट देखिने जानकारीमूलक सूचना बोर्ड भए त्यहाँ पर्यटक चासो दिएर पुग्न सक्थे होलान् ।’
पर्यटन विकास परिषद् रूपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको बताउँछन् । उनले सूचना केन्द्रमा पर्यटनसम्बन्धी डिजिटल र होडिङबोर्ड राख्ने तयारी भइरहेको जानकारी दिए । ‘केही समयपछि त्यसलाई मर्मतसम्भार गरेर नयाँ स्वरूपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउँछ’, उनले भने ।
अहिले उक्त कार्यालयले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिइन् । “कहिलेकाहीँ झुक्किएर आउनुभएको छ, तर उहाँहरूलाई हामीले सबै विषय जानकारी दिएर पठाएका छौँ”, उनले भनिन् । त्यसबाहेक परिषद्बाट पश्चिम केन्द्रित होम स्टे प्रवद्र्धन र नेचर गाईड सम्बन्धी कार्यक्रम यस बर्ष आयोजना भएको उनले बताइन् ।
भण्डारीले केही दिनअघिमात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउँदा पर्यटक अलमल परेपछि उनीहरूलाई सहजीकरण गर्ने काम गरिएको बताइन् ।
नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताए । ‘सूचना केन्द्र क्रियाशिल भएको भए कोहलपुर पुगेपछि रुट परमिट चाहिन्छ भन्ने कोहलपुर पुगेपछि थाहा पाउँदैन थिए’, उनले सीमानामा पर्यटन प्रहरीको समेत आवश्यकता औंल्याउँदै भने, ‘सीमामा पर्यटन प्रहरी भए अझ सजिलो हुन्थ्यो ।’