१९ श्रावण २०८२, आईतवार

नेपाल शिक्षक संघ संघीय कार्यसमितिद्धारा कोहलपुर नगरपालिकालाई सम्मान
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपाल शिक्षक संघ संघीय कार्यसमितिले कोहलपुर नगरपालिकालाई सम्मान गरेको छ । लुम्विनीमा आयोजित संघको २३ औं संघीय प्रतिनिधिसभामा नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला र काँग्रेस लुम्विनी प्रदेशका सभापति अमरसिंह पुनले कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई उक्त सम्मानपत्र हस्तान्तरण गरेका हुन ।

देशभरका ७५३ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाले आम नेपाली शिक्षकहरुको एतिहासिक शिक्षक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएको संघको ठहर छ । गएको असोजमा आम नेपाली शिक्षकहरुको एतिहासिक शिक्षक आन्दोलनलाई सहयोग गरी ट्रेड युनियन अधिकारको सम्मान र सामुहिक सौदावाजी गर्न पाउने संबैधानिक हकको संरक्षण गरेको र नेपाल शिक्षक संघका विभिन्न कार्यक्रमहरुमा सहभागी भइ लोकतन्त्र र समाजवादको बाटोमा आम नेपाली शिक्षकहरुलाई लाग्न प्रेरित गरेको भन्दै कोहलपुर नगरपालिकालाई संघीय प्रतिनिधिसभामा सम्मानित गरिएको कार्यक्रममा सहभागी नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले शिक्षकहरुले आफ्नो पेशागत मर्यादामा रहेर शैक्षिक गुणस्तर कायम गर्नुपर्नेमा जोड दिए । उनले शिक्षक आन्दोलनमा मात्र नभएर कोहलपुर नगरपालिकाले पछिल्लो समय शैक्षिक गुणस्तरलाई समेत केन्द्रमा राखेर सुधारका कामहरु प्रारम्भ गरेको बताए । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरेको संघको २३ औं संघीय प्रतिनिधिसभामा ७७ जिल्लाका संघीय प्रतिनिधिहरु सहभागी छन् ।

सभाले शिक्षकका पेशागत हकहित, पेशागत स्थायित्वका एजेण्डाहरु पारित गर्ने बताइएको छ । त्यसैगरी सदनमा प्रस्तुत शिक्षा विद्येयकमा समेटिएका पेशागत हकहित र शैक्षिण गुणस्तरका सवालमा समेत मिहिन ढंगले छलफल गरी निचोड निकाल्ने छ ।

  • २९ चैत्र २०८०, बिहीबार प्रकाशित

  • Nabintech