बाँके\ चालू आर्थिक वर्षको साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् ।
ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् ।
फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् ।
हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ ।
खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भने, “अनजान वा लापरवाहीले अप्याादेरोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।”