८ बैशाख २०८२, सोमबार

सुविधा सम्पन्न कोहलपुर बसपार्क व्यवस्थापन र सञ्चालनमा समस्या

बसपार्क आंशिक रुपमा सञ्चालनमा आएपनि मुख्य टर्मिनल भवन सञ्चालन हुन सकेको छैन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: बाँके जिल्लाको कोहलपुर नजिकै पूर्व पश्चिम राजमार्गको दक्षिण पट्टि छेवैमा बनेको  अत्याधुनिक सपिङ कम्प्लेक्स सहितको बसपार्कले यो रुटमा हिँड्ने जो कोहीको पनि ध्यान तान्ने गरेको छ। हेर्दा सुन्दर आकर्षक पश्चिम तराईकै एकमात्र सुविधा सम्पन्न बसपार्क भएपनि यसको व्यवस्थापन र सञ्चालनमा भने समस्या देखिन थालेको छ।

बसपार्क भित्र भएको टर्मिनल भवनको सञ्चालन को लागि भने कोहलपुर नगरपालिकाले ६ पटक सम्म प्रस्ताव आह्वान गरिसकेको छ। तर व्यवसायी इच्छुक नदेखिएपछि बसपार्क आंशिक रुपमा सञ्चालनमा आएपनि मुख्य टर्मिनल भवन सञ्चालन हुन सकेको छैन।

त्यस्तै व्यवसाय नचलेको भन्दै भाडामा लगाइएका सटरहरू धमाधम खालि हुन थालेका छन् । व्यापारीले सटर खालि गरिपाऊ भनि निवेदन नै दिएपछि २७ वटा सटरको सम्झौता रद्द गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनु भएको छ।

सुरुमा चर्को भाडामा टेन्डर पारेर सटर लिएका व्यवसायीहरूले व्यवसाय नचलेपछि सटर छोड्न बाध्य भएको बताएका छन् । अब नगरपालिकाले पुनः -टेन्डर गरि न्यूनतम भाडा कायम गर्नुका साथै आवश्यक व्यवस्थापन गर्नुपर्ने व्यवसायी जीवन शर्माको भनाई छ।

नगर विकास कोससँगको सम्झौता अनुसार कोहलपुर नगरपालिकाले वार्षिक झन्डै एक करोड रुपैयाँ कोषलाई तिर्नुपर्ने छ। तर बसपार्क सञ्चालनमा समस्या आउँदा पालिकालाई व्यय भार थपिन थालेपछि यसको प्रभावकारी निकासको लागि नगरपालिकाले सरोकारवाला निकाय सङ्ग छलफल गरिरहेको जनाएको छ।

कोहलपुर नगरपालिकाले टर्मिनल भवन सञ्चालनको लागि २०७९ चैतमा वार्षिक न्यूनतम १ करोड ७४ लाख ६५ हजार मूल्य कायम गरि पहिलो पटक प्रस्ताव आह्वान गरेको थियो। तर तिन पटक सम्म कुनै पनि आवेदन नपरेपछि आधामुल्य घटाएर ८९ लाख ३३ हजार न्यूनतम मूल्य तोकेर छैटौँ पटक प्रस्ताव आह्वान गरिसकेको छ। उक्त अवधिमा पनि आधा आवेदन पनि नपर्दा बसपार्क आंशिक रुपमा सञ्चालनमा ल्याइएको थियो। हाल व्यवसायीले भाडामा लिएका सटर पनि धमाधम छाड्न थालेपछि बसपार्क व्यवस्थापन गर्न नगरपालिकालाई चुनौती थपिएको छ।

  • १ बैशाख २०८१, शनिबार प्रकाशित

  • Nabintech