१८ श्रावण २०८२, शनिबार

बोहरा र बुढामगरले प्राप्त गरे अपहिल साइक्लिङ प्रतियोगीताको उपाधि

प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २५ र २० हजार रुपियाँ, र प्रमाणपत्र

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगीको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले प्राप्त गरेका छन। बोहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम भए भने सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले जनाएको छ।

कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन तथा गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुर र नागरिक पोलिक्लिनिक, कोहलपुरको सह प्रायोजनमा नयाँ वर्षको अवसर पारेर भएको प्रतियोगितामा पुरुषतर्फ जंगु थारु द्वितीय र गगन नेपाल तृतीय हुन सफल भए। महिलातर्फ रुपा थारु द्वितीय र टिका थारु तृतीय भएका छन भने पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २५ र २० हजार रुपियाँ, र प्रमाणपत्र पाउन सफल भएका छन।

स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका २८ खेलाडी सहभागी थिए। पुरुष १९ जना र महिला ९ जना प्रतियोगितामा सहभागी भएको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका संरक्षक केशर बहादुर आलेले बताए।

  • २ बैशाख २०८१, आईतवार प्रकाशित

  • Nabintech