बाँके: १३५ औं श्रमिक दिवसको अवसरमा आज नेपालगन्जका श्रमिकहरुको निशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिफन्ट बाँकेको आयोजना भएको श्रमिक दिवस कार्यक्रममा श्रमिकहरुको निशुल्क स्वास्थ्य जाँच गरिनुका साथै औषधि प्रदान गरिएको हो ।
लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्ट बाँकेको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरमा भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत महिला रोग विशेषज्ञ डा. क्रिष्टिना श्रेष्ठले श्रमिकको स्वास्थ्य जाँच गरेको जिफन्ट बाँके अध्यक्ष कृष्णबहादुर बुढाले जानकारी दिए ।नेपालगन्ज उपमहानगरपालिका १३ स्थित जिल्ला निर्वाचन कार्यालय बाँकेको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा एक सय १० जनाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
हरेक दिन काममा ब्यस्त रहने श्रमिकले आफ्नो स्वास्थ्य जाँचमा समय दिन नसकेको अवस्थालाई मध्यनजर गरि स्वास्थ्य शिविर आयोजना गरिएको जिफन्टले जनाएको छ । ‘गरिवीका कारण औषधि किन्न नसक्ने श्रमिकको रोग पहिचान गरि चिकित्सकको सल्लाहमा औषधि निशुल्क रुपमा प्रदान गर्यौँ,’ उनले भने ।
स्वास्थ्य शिविरमा उच्च रक्तचाप, सुगर, ग्याष्ट्रिक, टाउको दुख्ने, आँखा रोग जस्ता समस्या देखिएको मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठले बताए । ‘स्वास्थ्य समस्या हुँदासमेत अस्पताल नगएको देखियो,’ उनले भने । उनले सुगर र प्रेसरले मिर्गौला, कलेजो लगायत शरिरका विभिन्न अंगमा असर पार्ने भएकोले समय–समयमा स्वास्थ्य जाँच गराउन सल्लाह दिएको बताए । ‘रोग लागेपछिमात्र नभई शरिरको अवस्था जाँच्न समय–समयमा रगत, पिसाव जाँच गराउन सल्लाह दियौँ,’ उनले भने ।