१४ मंसिर २०८१, शुक्रबार

श्रेष्ठ र मल्ललाई सञ्चारिका सम्मान २०८०
  • न्युज मानसराेवर

नेपालगन्ज:सञ्चारिका समूह स्थापना गरि यस क्षेत्रमा पत्रकार महिलाको सशक्तिकरण र सक्रियतामा महत्वपूर्ण भूमिका खेल्ने डा. मुना श्रेष्ठलाई सञ्चारिका सम्मान–२०८० प्रदान गरिएको छ ।

श्रमिक दिवसको अवसर पारेर बुधवार नेपालगन्जमा आयोजित कार्यक्रममा सञ्चारिका समूह नेपालगन्जले डा. श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । पत्रकारिता क्षेत्रमा महिला सहभागिता र निरन्तरताको प्रोत्साहन प्रदान गर्न सञ्चारिका समूह नेपाल बाँके शाखाको सिफारिसमा नेपालगन्ज उपमहानगरपालिकाले उक्त सम्मान स्थापना गरेको थियो । नगद राशीसहित प्रदान गरिने सम्मान  डाक्टर श्रेष्ठलाई उद्योग बाणिज्य महासंघ नेपालका पूर्वअध्यक्ष वन्दना राणाद्वारा प्रदान गरिएको हो ।

वि.स. २०४९ सालदेखि पत्रकारितामा सक्रिय डा. श्रेष्ठ त्रिभुवन विश्व विद्यालयमा प्राध्यापनरत छन् । महिलालाई पत्रकारितामा स्थापित गर्न र सक्षम बनाउन डा. श्रेष्ठले खेलेको भूमिकाको सम्मान गर्न पाइएकोमा आफु हर्षित भएको अध्यक्ष रुपनी जिएमले बताइन् ।

त्यस्तै, पत्रकार रेजिना मल्ललाई सञ्चारिका पुरस्कार–२०८० प्रदान गरिएको छ । २०६५ सालदेखि नै कान्तिपुर टेलिभिजनमा आवद्ध भएर हालसम्म निरन्तर रुपमा पत्रकारिता सक्रिय मल्ललाई नगद राशीसहितको सञ्चारिका पुरस्कार –२०८० प्रदान गरिएको अध्यक्ष जिएमले बताइन् । कान्तिपुरकर्मी मल्ललाई बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पुरस्कार प्रदान गरे । सम्मानित र पुरस्कृत दुवै जनालाई नेपालगन्ज उपमहानगरपालिकाद्वारा प्रदान गरिएको नगद राशी नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले हस्तान्तरण गरे ।

सञ्चारिका समूह नेपाल बाँके शाखा र साथीको संयुक्त आयोजनामा भएको कार्यक्रममा सञ्चारिकाले २०८१ सालको भित्ते पात्रोको पनि विमोचन गरेको जनाएको छ ।

  • २० बैशाख २०८१, बिहीबार प्रकाशित

  • Nabintech