१० मंसिर २०८१, सोमबार

बाँके बर्दियामा पानी परेसँगै ठुलो राहत

जिल्लाका किसानलाई खेतबारी खनजोत गर्ने र बर्खे बाली लगाउन सहज हुने

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला बुधबार बाँके बर्दिया लगायतका जिल्लामा पानी परेसँगै सर्वसाधारणलाई ठुलो राहत भएको छ । लामो समयदेखि पानी नपरेर सुखा खडेरी परेर मकै लगायतका हिउँदे बाली सुक्न लागेको र अत्यधिक गर्मीले स्थानीय बासिन्दा आजित भएको बेला पानी परेपछि सबैलाई राहत महसुस भएको हो ।

लामो समयपछि बुधबार बाँके र सो वरिपरिका जिल्लामा पानी परेपछि सर्वसाधारण र किसानमा खुसीयाली छाएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।  कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँका अनुसार नेपालगन्ज र यस आसपासका क्षेत्रमा करिब ७/८ महिनापछि वर्षा हुँदा गर्मीबाट आजित बनेका स्थानीयले शीतलता महसुस गरेका हुन् । ग्रामीण भेगका किसान बालीनाली सप्रिने भन्दै हर्षित भएका छन् ।

पछिल्लो दुई साता यता नेपालगन्जको तापक्रम बढेर अधिकतम ४३ डिग्री सेल्सियससम्म पुगेको थियो । दिउँसोको लू चल्न थालेकोले बिरामीको सङ्ख्यासमेत बढ्दै गएको थियो। बुधबार बिहानैबाट केही बेरसम्म वर्षा भएपछि मौसम शीतल हुनुका साथै स्थानीयले राहत महसुस गरेको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

लामो समयपछि भएको यो वर्षाले जिल्लाका किसानलाई खेतबारी खनजोत गर्ने र बर्खे बाली लगाउन सहज हुने कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । सो कार्यालयका अनुसार यसबाट हिउँदे बालीलाई ठुलो लाभ मिल्ने आशा गरिएको छ ।

  • २६ बैशाख २०८१, बुधबार प्रकाशित

  • Nabintech