नेपालगञ्ज:अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् । नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताउनुभयो । उहाँले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिनुभयो ।
बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताउनुभयो । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगञ्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताउनुभयो । बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगञ्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आउनुभएको छ । उहाँले हरेक दिन बिहानै नेपालगञ्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताउनुभयो ।
नेपालगञ्जको धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन् । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गर्नुभयो । “यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको तीन वर्ष भयो । अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तु उत्पादन गर्दै आएकी छु”, उहाँले भन्नुभयो । तरकारी बिक्रीबाटै पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताउनुभयो । “देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु”, उहाँले भन्नुभयो । स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उहाँको माग छ । नेपालगन्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन् ।