कोहलपुर,बाँके:भनिन्छ, हैसियतअनुसारको सपना बोक्नुपर्छ। त्यो राजनीतिमा पनि लागू हुन्छ। बल्लबल्ल राष्ट्रिय दल बनेको पार्टीका अध्यक्षले प्रधानमन्त्रीको महत्वकांक्षा बोक्दा के हुन्छ भन्ने ज्वलन्त उदाहरण हुन् उपेन्द्र यादव। केन्द्रमा १२ सिट हुँदा पनि उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री पाएको जसपाले मधेसमा मुख्यमन्त्री पाएको थियो। मधेशमा १९ सिटसहित तेस्रो दल रहे पनि पहिलो दल एमाले र शक्तिशाली नै रहेको माओवादीले जसपा नेतृत्वको सरकार स्वीकार गरेका थिए।
अशोक राई समूहले बहुमत सांसद लिएर नयाँ पार्टी बनाएपछि एमाले र माओवादीले मधेश सरकार अल्पमतमा पारिदिएका छन्। यी दुबै दलका मन्त्रीले आइतबार राजीनामा ठोकेपछि जसपा नेता सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। एमाले, माओवादी, जनमत र लोसपा एक हुने भएपछि अब जसपाले त्यहाँ सरकार बनाउन सक्दैन। रोचक पक्ष त जसपाका १९ सांसद रहे पनि कम्तीमा आधा सांसद नयाँ दलमा जाँदैछन्। नयाँ दल गठबन्धनमा जाने निश्चित छ।
यादवले आफूलाई मधेशको नेता दाबी गरेपनि उनलाई गृहजिल्लामै जनमतका अध्यक्ष सिके राउतले हराएका थिए। पछि बाराबाट निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर बाराबाट उपनिर्वाचन लडेका थिए। एकल बलमा जित्ने नसक्ने भएपछि तत्कालीन गठबन्धनका कांग्रेस, मओवादी र एकीकृत समाजवादीको बलमा चुनाव लडेका यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेकै थिए।
तर, देउवाले प्रधानमन्त्री बनाउने भनेपछि बुरुक्क उफ्रिएका यादवले मधेस सरकार त गुमाएकै छन् अब केन्द्र सरकार पनि गुमाउने भएका छन्। विभाजित जसपाको तर्फबाट एक जना मन्त्री थपिँदैछन्। वनमन्त्री नवलकिशोर साह विभाजित पार्टीमा लागिसकेका छन्। यो अवस्थामा उपेन्द्र यादवले सरकार छोड्नुपर्ने हुन्छ।
जसपाले पनि नयाँ समीकरणबारे छलफल गर्न सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइसकेको छ। प्रधानमन्त्री प्रचण्ड यादव नेतृत्वको जसपाले सरकारले छाडोस भन्ने चाहनामा थिए। तर, यादवले उल्टै पत्रकार सम्मेलन गरेर यही गठबन्धनमा रहने भनेपछि प्रतिक्रिया स्वरुप मधेश सरकार अल्पमतमा पारिएको हो। प्रचण्ड भने केन्द्रमा यादव नेतृत्वको जसपालाई हटाएर जनमतलाई सरकारमा ल्याउन चाहन्छन्।