बाँके: बाँकेमा नेकपा एमालेको नयाँ नेतृत्वका लागि त्रिपक्षीय लडाई चलेको छ । जेठ ४ र ५ गते हुने नवौं अधिवेशनका लागि सबै तयारी गरिसकिएको छ । तीन निर्वाचन क्षेत्र रहेको यो जिल्लामा अधिवेशनका लागि ४५८ जना प्रतिनिधि छनौट भएका छन् । यसबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन हुने हो ।
नेकपा एमाले बाँकेको आसन्न निर्वाचनका लागि प्रतिनिधि छनोट सकिएको छ । शनिबार जिल्लाका ८१ वटै वडा, भातृ संगठन लगायतका प्रतिनिधि छनोटका इकाइहरूबाट जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनोट सकिएको हो ।
अधिवेशनबाट नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष किस्मतकुमार कक्षपति दोहोरिने तयारीमा छन् उनीसँगै पूर्वअध्यक्ष निरक गुरुङ्ग, वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल अध्यक्षका प्रत्यासीका रूपमा लागेका छन् । गुरुङ नेकपाकालमा अध्यक्ष बनेका थिए भने घननाथ प्रदेश कमिटीमा छन् । केही कार्यकर्ताले घननाथले निरकलाई अगाडि सारेर जाने तयारी गरेको अनुमान गरेका छन् ।
प्रतिनिधि छनोटका क्रममा अध्यक्षका प्रत्यासीहरू समूहगत रूपमै सक्रिय भएको कार्यकर्ताले जनाएका छन् । बाँकेमा केन्द्रमा भएको कुनै नेता विशेषको समूह नभएर स्थानीय रुपममै बनेको समूह छन् । प्रतिनिधि छनोटले नेतृत्वलाई स्पष्टता प्रदान नगरेकाले अहिले नै नेतृत्वको आंकलन गर्न नसकिने स्थानीय नेताहरुको बुझाई छ ।
त्यसो त केही जिल्ला कमिटीमा दाबेदारी गर्नेहरु प्रतिनिधि छनौटमै रोकिएका छन् । मिनबहादुर मल्ल, उषा भण्डारीलगायतका कतिपय अधिवेशनका लागि वडाबाटै प्रतिनिधि छनोट हुन सकेनन् ।
मल्ल र भण्डारी नगर अध्यक्षका आकांक्षी रहेपनि दुवैलाई जिल्ला कमिटीमा ‘समावेश’ गर्ने आश्वासन नेतृत्वले दिएको थियो । जिल्ला नेतृत्वका आकांक्षीहरूले बनाएको समूह हाबी हुँदा कतिपय ठाउँमा प्रतिनिधि छनोट प्रभावित भएको पार्टी नेताहरू बताउँछन् ।
नेतृत्वलाई सर्वसम्मत बनाउन नेताहरु लागेपनि आकांक्षीहरु धेरै भएकाले त्यो संभावना कम रहेको छ । अध्यक्षपछि उपाध्यक्षमा प्रदेशमा मन्त्री रहेका रत्न खत्री र रविन्द्र लम्साल, सचिवमा बलराम भट्टराई, भीम वली, दत्तप्रसाद आचार्य, खिल प्रसाद भुसाल लगायतका नेताहरु तयारीमा छन् । उपसचिवमा भने एक दर्जनले दावी गरिरहेका छन् ।