राप्तीसोनारी: बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेमाथि पालिकाले कडाई गरेको छ । राप्तीसोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको गुनासो आएपछि पालिकाले अनुगमनलाई सघन बनाएको छ । नदीजन्य पदार्थ उत्खननको ठेक्का पाएका कम्पनीले समेतले जथाभावीरुपमा नदीजन्य पदार्थको उत्खनन र पायक पर्ने स्थानमा भण्डारण गर्ने गरेको गुनासो आएपछि कडाई गरिएको हो ।
नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाका प्रतिनिधि र कर्मचारीले राप्ती नदी र विभिन्न खोलाबाट हुन सक्ने नदीजन्य पदार्थको अवैध उत्खनन कार्य रोक्नका लागि क्रसर उद्योगको अनुगमन गर्ने गरेका छन् । नदीजन्य पदार्थको चोरी निकासी रोक्न जनप्रतिनिधिसहितको टोलीले क्रसर उद्योग र घाटगद्धिको निरीक्षण तथा अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।
यस वर्ष गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का आह्वान गरी ८ करोड ६७ लाख ९६ हजार ९ सयमा ठेक्का सम्झौता गरेको छ । “उत्खननको ठेक्का पाएको कम्पनीले सम्झौता अनुसारको सीमा क्षेत्र भन्दा बाहिर नजान चेतावनी दिँदै आएका छौँ, गाउँपालिका क्षेत्रभित्र रहेका सबै क्रसर उद्योगको अनुगमन गर्ने तयारीमा छौँ,” गाउँपालिका अध्यक्ष पौडेलले भने- “अनुगमनका क्रममा कुनै कैफियत पाइएमा कानुन बमोजिम कारबाही गरिनेछ ।”
विहीबार मात्रै राप्तीसोनारी गाउँपालिका वडा नं ६ ढलैया नाकाको जलालाघाट र मसुसियाको अनुगमन गरिएको छ । राप्ती नदीको ममुरिया स्थानमा पुगेर पालिकाका अध्यक्ष पौडेल नेतृत्वको टोलीले अनुगमन गरेको हो । त्यसक्रममा १.५ मिटर गहिराई मात्र उत्खनन् गर्नुपर्नेमा औषत भन्दा १.९० मिटर गहिराई उत्खनन् गरेको पाइएको पालिका प्रमुख पौडेलले बताए । साथै साना उपकरणले नदीजन्य पदार्थको उत्खनन गर्नुपर्नेमा ठूला उपकरण प्रयोग गरेको पाइएकाले ती उपकरण हटाउन निर्देशन दिइएको पनि अध्यक्ष पौडेलले बताए ।
नदी क्षेत्रमा हुने अवैधानिकरुपमा नदीजन्य पदार्थको उत्खनन्, तोकिएको स्थान भन्दा फरक स्थानबाट अवैध रुपमा उत्खनन् तथा चोरी निकासीलाई ध्यानमा राखी गाउँपालिकाबाट ठेक्कामा लगाइएको नदीमा सुरक्षा निकाय र पत्रकारको टोली समेत सम्मिलित भएर अनुगमन गरिएको हो ।
अनुगमनमा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडी, वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, योजना शाखा प्रमुख, इन्जिनियर, प्राविधिक, सुरक्षाकर्मी र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।