काठमाण्डौ: तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप बढ्दै गएको छ । नेपालमा भने तापलहर अर्थात् लुको मापदण्ड नहुँदा तापक्रमजन्य प्रकोपसँग लड्ने रणनीति बनाउन अप्ठ्यारो परेको छ । विभिन्न मुलुकले लुको राष्ट्रिय मापदण्ड बनाएर अनुकूलन र न्यूनीकरणका लागि रणनीति बनाउने गरेका छन् तर नेपालमा कति तापक्रम कहाँ हुँदा तापलहर वा लु फैलन्छ भन्ने यकिन गर्न मापदण्ड नै छैन ।
गत वर्षदेखि तापलहरको सामान्य पूर्वानुमान थालेको जल तथा मौसम विज्ञान विभागले पनि यकिन मापदण्ड तय गरेको छैन । त्यसका लागि तापलहरको औसत तथ्याङ्क अर्थात् करिब ३० वर्षको आँकडा आवश्यक पर्छ, जुन नेपालले सङ्कलन नै गर्न सकेको छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार आयोजना गरेको तापलहर न्यूनीकरणसम्बन्धी बहसमा सहभागीले सबैभन्दा पहिले तापलहर अर्थात् लुको राष्ट्रिय मापदण्ड बनाउन माग गरे । जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले नेपालमा पछिल्लो समय तीन सय स्टेसनमार्फत बढ्दो तापक्रमको आँकडा सङ्कलन भइरहेको जानकारी दिए ।
उनले भने, “नेपालमा प्रतिवर्ष ०.०५२ डिग्री सेल्सियस अधिकतम तापक्रम र ०.००२ डिग्री न्यूनतम तापक्रमका दरले तापक्रम वृद्धि भइरहेको छ ।” बढ्दो तापक्रमकै कारण तापलहरसँगै कडा लुको हावा चल्ने क्रम पनि बढेको उनले भने । यसरी तापक्रम बढ्दै जाने हो भने भविष्यमा पूर्वानुमान नै गर्न नसक्ने जलवायुजन्य प्रकोपका घटना बढ्दै जाने पनि उनले स्पष्ट पारे ।
अहिलेसम्म छिमेकी मुलुक भारतको मापदण्डका आधारमा नेपालमा लु चलेको नचलेको अनुमान गरिँदै आएको छ । त्यहाँ तराईमा ४० र पहाडमा त्योभन्दा बढी ३० डिग्री तापक्रम भएमा लुको प्रक्रिया सुरु हुन्छ भन्ने मापदण्ड रही आएको छ अर्थात् जति तापक्रम तराईमा हुन्छ, पहाडमा त्योभन्दा ४ डिग्री कम भएमा अब लु चल्छ भन्ने मान्यता छ । त्यही अनुसार राष्ट्रिय अनुकूलनका योजना कार्यान्वयनमा जाने गर्छ ।
नेपालको तराईका २२ जिल्ला तापलहरले अति प्रताडित हुने जिल्ला अन्तर्गत पर्छन् । जहाँको तापक्रम वैशाख र जेठको पहिलो सातामा नै ४० डिग्री सेल्सियसभन्दा माथि उकलिँदै गएको छ ।
भारतमै मापदण्ड मान्ने हो भने नेपालको तराई र पहाड दुवैतिर तापलहरको अवस्था सुरु भइसकेको छ । विभागले केहीअघि सार्वजनिक गरेको मनसुनी वर्षा र तापक्रमको पूर्वानुमानले पनि यो वर्ष नेपालको अधिकांश भूभागको तापक्रम बढ्ने सङ्केत गरिसकेको छ । अझ आउँदो जुन र जुलाईको महिनामा कम वर्षा हुँदा दुवै महिनाको तापक्रम थप उच्च हुने भएको छ ।
तापलहर र कडा लुबाट जनधनको क्षति कम गर्न केन्द्र, प्रदेश र स्थानीय सबै तहको संयोजनकारी भूमिका आवश्यक रहेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको भनाई छ । सङ्कलित सुझावका आधारमा उनले अर्को हप्तासम्ममा नेपालको तापलहर र लुको राष्ट्रिय मापदण्ड बनाएर तापलहरको सचेतना अभियानसँगै अनुकूलनका योजनालाई अगाडि बढाइने जानकारी दिए ।
प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जिल्लास्थित विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाएर तराईका जिल्लामा तापलहरबाट जनताको जिउधन जोगाउन सकिने बताए । तराईमा सकेसम्म विद्युत् आपूर्ति कटौती नगर्ने, हाटबजार व्यवस्थापन गर्ने, दिनमा कम हिँडडुल र मेला महोत्सव कम गर्ने, अति भएमा विद्यालय बन्द गराउने तथा प्राधिकरणको अनुगमनमा तराईका जिल्लामा विद्युतीय पङ्खा वितरण गर्न सकिने अवधारणा उनले अघि सारे ।
नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष सुरेशसिंह ऐरले नेपालमा लुकै कारण मानिसको मृत्यु भएको सरकारी तथ्य नभए पनि विभिन्न अध्ययनले सन् २००२ देखि २०१० सम्म २५ जनाको मृत्यु भएको आँकडा प्रस्तुत गरे । उनले विदेशी अनुभव सुनाउँदै सन् २००३ मा युरोपमा लु चल्दा ७० हजार मानिसको ज्यान गएको औँल्याए । नेपालमा मापदण्डको अभावमा ठ्याक्कै लु लागेर मृत्यु भएको तथ्य ल्याउन प्रहरीले पनि नसकेको नेपाल प्रहरीका डिआइजी भरतबहादुर बोहराले बताए ।