नेपालगन्ज: बाँकेको तीन जना वरिष्ठ साहित्यकारलाई सुदूरपश्चिमाञ्चाल साहित्य समाजले पुरस्कृत गर्ने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले प्रदान गर्ने विभिन्न सात पुरस्कारको घोषणा गर्दा बाँकेका तीन स्रष्टा पुरस्कृत हुने भएका हुन् ।
हालै सो संस्थाले २०७९ साल र २०८० सालमा प्रदान गरिने सात साहित्यिक, सामाजिक र प्राज्ञिक पुरस्कारको घोषणा गरेको छ । जसअनुसार २०८० सालको विष्णुदास यज्ञ साहित्य पुरस्कार नेपालगन्जकी साहित्यकार किरण आचार्यलाई दिने निर्णय गरिएको छ ।
त्यस्तै २०७९ सालको जसुदा साहित्य पुरस्कार नेपालगन्जका साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ लाई र २०८० सालको जसुदा साहित्य पुरस्कार बाँके कोहलपुरकी अञ्जु न्यौपानेलाई प्रदान गर्ने निर्णय गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेले बताउनुभयो ।
यी तीन वटै पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले केही दिनभित्र कार्यक्रम गरेर देशभरिका १४ जना स्रष्टा, प्राज्ञिक व्यक्तित्व र समाजसेवीलाई पुरस्कृत र सम्मानित गरिने बताउनुभयो ।
विभिन्न विधामा कलम चलाउने बाँकेका साहित्यकार किरण आचार्यका सात, अन्जु न्यौपानेका दुई र खगेन्द्र गिरीको चौध पुस्तक प्रकाशित छन् ।