८ बैशाख २०८२, सोमबार

कोहलपुरका महिला ढाका बुन्दै स्वावलम्वि बन्दै

स्वरोजगार बनेसँगै घर खर्चको गर्जो टार्न सजिलो, केही रकम बचत

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:  बाँकेको कोहलपुर नगरपालिका–१२ का महिलाले ढाकाका सामान उत्पादन गरेर आफूलाई उद्यमी बनाउन थालेका छन् ।सानो समूहबाट ढाकाको उत्पादन शुरु गरेका कोहलपुर नगरपालिका वडा नम्बर १२ चपरगौडीका उद्यमी महिलाले सारी, पछ्यौरी, कोट, टोपी, झोलालगायत ढाकाका सामान उत्पादन गरिरहेका छन् ।

कोहलपुर नगरपालिका–१२ चपरगौडीकै सुशीला योगीसँग केही वर्षअघिसम्म न काम थियो न त कमाइ नै । यत्तिकै बित्ने समय सदुपयोग गरौँ भनेर उहाँले ढाकाका समान बुन्ने सिप सिक्नुभयो । स्वरोजगार बनेसँगै घर खर्चको गर्जो टार्न सजिलो त भएको छ नै उहाँ अहिले केही रकम बचत गर्न पनि थाल्नुभएको छ।

ढाका कपडाको माग बढ्दै गएको र त्यसै अनुसार उत्पादन गरिरहेकाले बजारको खासै समस्या नरहेको उद्यमीहरू बताउँछन् । ढाकाका सामान उत्पादन गरेर औसतमा मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको कोहलपुर नगरपालिका–१२ जानकी टोलकी उद्यमी करिना भण्डारी बताउनुहुन्छ।

ढाका उद्यमले महिलालाई स्वावलम्वि,आत्मनिर्भर बनाउनुका साथै समाजमा आफ्नै पहिचान बनाउन पनि सघाएको छ । चपरगौडीका ढाका उद्यमीले ज्ञानज्योती महिला लघु उद्यमी समूह गठन गरेका छन् । जसमा १० जना सदस्य रहेका छन् । आर्थिक रुपमा सबल बन्दै गएपछि समाजमा स्थापित हुन मद्दत पुगेको समूहकी अध्यक्ष कमला विक बताउनुहुन्छ। महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले जोड दिनुपर्ने उहाँहरूका सुझाव छ ।

महिला उद्यमशीलता विकासका लागि कोहलपुर नगरपालिकाले विभिन्न तालिम सञ्चालनदेखि मेसिन उपकरण समेत सहयोग गरेको उपप्रमुख संगीता सुवेदीले बताउनुभयो।

हातमा सीप भए बेरोजगार बस्न नपर्ने कुराको पुष्टि चपरगौडीका ढाका उत्पादकहरूले गरेका छन् । आफ्नै पौरखमा खुशी बन्न सफल यी महिला उद्यमी ‘मिलेर केही गरौँ’ भन्ने अन्य ठाउँका नागरिकका लागि पनि उदाहरण बनेका छन् ।

  • ६ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech