८ असार २०८२, आईतवार

४२ डिग्रिको गर्मिमा फलाम पिट्दै कोहलपुर ७ का यी मणिराम

परम्परागत पेशाबाट दैनिक २ हजार देखि २ हजार ५ सयसम्म कमाई

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: तीन दशक विदेशी भूमिका पसिना बगाउनुभएका बाँके जिल्ला कोहलपुर–७ सल्यानी टोलका मणिराम कामि कामले काेही सानो ठुलो नहुने बताउनुहुन्छ। उमेरले ५५ बर्ष पुग्नु भएका मणिरामले न गर्मी न पानी केहीको प्रवाह नगरेरै पुर्खौली पेशा सम्हाल्दै आउनुभएको छ। पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिएसँगै यो पेशा लोप हुँदै गइरहेको छ। तर, मणिरामले परम्परागत पेशाबाट नै दैनिक २ हजार देखि २ हजार ५ सयसम्म कमाउँदै जीविकोपार्जन गरिरहनुभएको छ।

धेरै मेहनत भए पनि कम आम्दानी हुन थालेपछि गाउँका अरू कोही कालापहाड भारत, कोही बिदेसिएसँगै लोप हुने अवस्थामा पुगेको पेशा आफूले धान्दै आएको उहाँले बताउनुभयो । गाउँमा हँसिया, बन्चरो जस्ता हतियार बिस्तारै लोप हुँदै गए पनि आफूले अहिलेसम्म यस्ता हतियार बनाइरहेको उहाँको भनाइ छ । अहिले सल्यानी टोल र आसपास गाउँका मानिसहरू हतियार अर्चाप्ने तथा बन्चरो, खुँडा र दाउ बनाउन मणिरामलाई खोज्दै आउँछन् । वडामा मनिराम नै आरनमा काम गर्ने एक्लो व्यक्ति हुनुहुन्छ ।

मनिराम आफ्नो पेशाबाट पूर्ण रुपमा सन्तुष्ट हुनुहुन्छ । पछिल्लो समय आधुनिक मेसिनबाट बनेका हतियारका तुलनामा आफूले निर्माण गरेका हतियारको आकर्षण केही मात्रामा कमी हुने उहाँको भनाई छ। उहाँले खुर्पाको मूल्य ३ हजार, खुँडाको मूल्य ४ हजार कायम गर्नुभएको छ। उहाँले बनाएका हतियार घरबाटै विक्री हुने गर्दछ । पछिल्लो समय आरने पेशाबाट केही हुँदैन भनेर युवाहरू विदेश पलायन भइरहेको बेला मणिरामले भने त्यही काम गरेर आफ्नो घर परिवारको गुजरा चलाइरहनुभएको छ।

विदेशबाट फर्किएर पनि आफ्नो पुर्खौली पेशा अँगाल्न पाउँदा आफूलाई गर्व लाग्ने गरेको उहाँले बताउनुभयो । परम्परागत पेशालाई टिकाउन र बजारीकरणका लागि स्थानीय सरकारले सहयोग गरे पेशा दिगो रुपमा टिकाउन सजिलो हुने उहाँको भनाई छ।

  • ६ जेष्ठ २०८१, आईतवार प्रकाशित

  • Nabintech