चितवन:माडीको गोपालनगरस्थित माछापाेखरीमा अक्सिजन अभावले पाेखरीका माछा धमाधम मर्न थालेका छन् । माछा पकेट क्षेत्रको रुपमा रहेको माडी नगरपालिका–७ स्थित गोपालनगरका किसानको माछा पोखरी क्षेत्रमा विधुतिकरण हुन नसक्दा अक्सिजनको कमि भइ माछा मरेको माछा पालक किसान हरी रानाभाटले बताउनुभयो ।
नेपाल विधुत प्राधिकरण माडी प्रशाखाले सो क्षेत्रमा विधुतिकरण जटिल रहेको बताउँदै आएको छ ।अक्सिजनको अभावले किसानले वर्षेनी करीब ३ करोड बराबरको माछा खाल्डोमा पुर्न बाध्य हुनुपरेको दुखेसो रानाभाटले पोख्नुभयो । वि.सं. २०४० सालबाट माछापालन सुरू भएकाे गोपालनगरमा ८५ घरमध्ये झण्डै ७५ घरले व्यवसायीक रूपले माछापालन गरिरहेका छन् ।
स्वदेशमै आत्मनिर्भर बन्न किसानले गरेको माछापालन व्यवसायलाई प्रोत्साहन हुनेगरि विधुतिकरण गर्न पहल नगरे माडी नगरपालिका परिसरमा मरेका माछा ल्याएर फाल्न बाध्य हुने किसानहरुले बताएका छन् । प्राधिकरणहरुको सल्लाह अनुसार अनुकूल समयमा माछाका भुरा राख्ने र दानाको उचित मात्रा मिलाएर खुवाउन सकिएको खण्डमा १ कट्ठामा साढे २ सय ५० देखि ३ सय केजीसम्म माछा उत्पादन हुने किसान बताउँछन् ।
माछा पालनका लागि २०७२ सालदेखि संयुक्त राष्ट्र सङ्घीय कार्यक्रम (युएनडिपी) ले सहयोग गरेपछि यहाँका किसानहरूको जीवन नै फेरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले जङ्गली जनावरहरूले यहाँका किसानलाई दुःख दिँदै आएका थिए । किसानहरूको बर्षभरिको मेहनत जङ्गली जनावरले क्षणभरमा नै माछा पालनका लागि पोखरी बनाउँदा जङ्गली जनावरको आतङ्क पनि घटेको छ ।
पोखरीका ठुला–ठुला खाडलले जङ्गली जनावरको गाउँतर्फ आउन रोकिदिएको छ । यहाँका किसानलाई २०७२ देखि २०७३ सालसम्म युएनडिपीले माछा पालनका लागि आवश्यक सहयोग गरेको थियो । त्यसपछि नेपाल सरकारको पशु शाखाले तालिम दिने र पोखरी बनाइदिने काम गरेको थियो । माछा पालन सुरु गरेदेखि अहिलेसम्म बजारका लागि कुनै समस्या नरहेको माछा पालक कृषक शोभाखर सुबेदीको भनाइ छ । सरकारले माडी क्षेत्रलाई माछाको पकेट क्षेत्र घोषणा गरेको छ ।