कोहलपुर,बाँके:बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ ।मुगुको खत्याड गाउँपालिका २ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थी शैक्षिक भ्रमणका लागि उक्त जिपमा रारातर्फ गइरहेका थिए ।
यसैगरि कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो । प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् ।
कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ । घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।