ह्युस्टन : बंगलादेशलाई लगातार दोस्रो खेलमा स्तब्ध पार्दै अमेरिकाले ३ खेलको टि ट्वान्टी शृंखला एक खेल अगावै जितेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा अमेरिकाले बंगलादेशमाथि ६ रनको जित दर्ता गर्दै शृंखला कब्जा गरेको हो ।
अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए । सकिब अल हसनले २३ बलमा ३० रन जोडे । टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए ।
अमेरिकाका लागि पेसर अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिँदा जस्दिप सिग्न र कोरी एन्डरसनले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले ३८ बल खेल्दै सर्वाधिक ४२ रन बनाएका थिए । एरन जोन्सले ३४ बलमा ३५ रन बनाउँदा अर्का ओपनर स्टेभन टेलरले ३१ रन जोडे ।
बंगलादेशका शोरीफूल इस्लाम, मुस्तफिजुर रहमान र ऋषाद होसेनले समान २ विकेट लिएका थिए । शृंखलाको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम खेल शनिबार हुनेछ । बंगलादेश आउँदो टि-२० विश्वकपमा नेपाल सम्मिलित समूहमा छ ।