१४ मंसिर २०८१, शुक्रबार

बुधवार बाँकेमा यस बर्षकै सबैभन्दा बढि गर्मि, आज अझै तापक्रम बढ्न सक्ने

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:बाँकेमा बुधवार यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले बाँकेको सिक्टा क्षेत्रमा ४३.२ डिग्रि तापक्रम मापन गरिएको छ भने सोहि अवधिमा नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिएकी छिन । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उनको भनाई छ ।

“केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन”, उनले भनिन । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ । गर्मी बढ्न सक्ने भएकाले  सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आउनुभएका सरोज पटेलले वीरगञ्जभन्दा नेपालगञ्जमा धेरै गर्मी महसुस गरेको वताए । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उनले भने ।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा सङ्केत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिए । उनले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताए । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उनले बताए । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उनले भने।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । “विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ”, स्थानीय आरती गौतमले भनिन ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताए । हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।

  • १७ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech