नेपालगञ्ज: नेपालगञ्जमा आज विश्व सुर्तीजन्य पदार्थ रहित दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
बिहिवार बसेको सरोकारवालाहरुको बैठकले सबै कार्यालयहरुमा ब्यानर राख्ने, सुर्तीजन्य पदार्थ विरुद्धको दिवससहित निषेधित क्षेत्रको सूचना रेडियो एफएममार्फत प्रशारण गर्ने, रानीतलाउमा बास नेपालले सन्देशसहितको नाटक विहान ७ बजे प्रदर्शन गर्ने, सार्वजनिक स्थलहरुमा सन्देशमूलक स्टिकर टाँस गर्ने र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनका लागि कानुन बमोजिम कार्यान्वयन नभएको हुँदा कडाईका साथ कार्यान्वयन गर्न स्वास्थ्य कार्यालय बाँकेमार्फत जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।
बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, उद्योग बाणिज्य संघकी उपाध्यक्ष मन्दिरा पाण्डे, रेडक्रसकी निरञ्जना मल्ल, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगी लगायत सरोकारवाला र स्वास्थ्यकर्मी उपस्थित थिए । यस बर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नारा ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔं’ भन्ने छ ।