६ श्रावण २०८२, सोमबार

कहिले घट्ला बाँके र कैलालीको तापक्रम

केरलसम्म पुगेको मनसुन नेपाल भित्रनका लागि तत्काल अनुकूल वातावरण छैन

  • न्युज मानसराेवर

कोहलपुर,बाँके: लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराईका सबै भूभागमा एक साता भन्दा बढी समयदेखि लगातार तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ। यो उक्लिनेक्रम बढे संगै तापक्रम कहिलेबाट घटछ भन्ने आम नागरिकहरुले चासो ब्यक्ति गरिरहेका छन । एकसाता भन्दा बढी समयदेखि तातो हावा लु चल्दा पश्चिम तराईको जनजीवन कष्टकर बन्दै गइरहेको छ भने दैनिक रिक्सा चलाएर तथा मजदुरी गरेर साँझ विहानको छाक टार्ने वर्गलाई भने निकै सकसपुर्ण वातावरणमा काम गर्न बाध्य बनाएको छ ।

शुक्रबार धनगढीको अधिकतम तापक्रम ४२.५ डिग्री सेल्सियस मापन भएको थियो भने नेपालगन्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस थियो। यी स्थानहरूमा न्यूनतम तापक्रम पनि ३० डिग्री सेल्सियस हाराहारीमा रहने हुँदा चौविसै घण्टा गर्मी महशुस हुने गरेको छ। बिहीबारको तुलनामा नेपालगन्ज र धनगढीको अधितकत तापक्रम केही घटेको मौसमविद गोविन्द झा बताउँछन्। बिहीबार ती ठाउँमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा शुक्रबार क्षणिक वर्षा भएकाले त्यसको प्रभावस्वरूप शुक्रबार तापक्रम केही घटेको मौसमविद् झाले बताए। तर, अझै केहीदिन तापक्रम उच्च नै रहने उनले बताए।हिजो ती प्रदेशका पहाडी भूभागहरुमा बादल आउने र एकदुई स्थानमा क्षणिक वर्षाका कारणले तापक्रम केही घटेको थियो तर त्यो क्रम जारी रहने देखिँदैन,’ झाले भने।

उनका अनुसार आज र भोलि पनि तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान छ। ‘भोलिसम्मको स्टाटस हेरेर पर्सीदेखि के हुन्छ भन्न सक्छौं तर तत्काल तापक्रम घटिहाल्ने सम्भावना छैन,’ उनले भने।

पूर्वी तराईमा भने तापक्रम घटेको उनले बताए। कोशीमा शनिबार बिहान पनि हल्कादेखि मध्यम वर्षा भएकाले त्यहाँको तापक्रम घटेको छ। विराटनगरमा शुक्रबार ३१ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो। आज पनि सोही हाराहारीमा रहने पूर्वानुमान छ। मध्य तराईमा भने तापक्रममा उल्लेखनीय परिवर्तन देखिने सम्भावना नरहेको मौसमविद् झा बताउँछन्।

काठमाडौंको अधिकतम तापक्रम पनि आज ३२ देखि ३४ डिग्री सेल्सियस आसपास रहने पूर्वानुमान छ। काठमाडौंमा पनि केही दिनदेखि तापक्रम बढ्दो क्रममा छ। बिहीबारको तुलनामा शुक्रबार भने तापक्रम केही घटेको थियो। आज बिहानदेखि बदलीको अवस्था रहेकाले गर्मी केही कम महशुस गरिएको छ।

केरलसम्म पुगेको मनसुन नेपाल भित्रनका लागि तत्काल अनुकूल वातावरण बनिसकेको छैन। अहिले भारतको सिक्किम आसपास पुगेको मौसमविद् झाले जानकारी दिए।

 

  • १९ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • Nabintech