कोहलपुर,बाँके: विश्वब्यापि रुपमा बढदो तापक्रमले आजित नेपाल भारत सिमाका नागरिकहरुलाई नेपालगञ्जका पौडि पोखरीहरु विकल्पका रुपमा ब्यापक प्रयोगमा आएका छन । नेपालगञ्जमा रहेका निजि पौडि पोखरीदेखि रंगशालामा रहेको पोखरी, वटरपार्क र विभिन्न होटेलमा रहेका पौडि पोखरीले केहि भएपनि राहत दिएको नियमित पौडि खेल्दै आएका नागरिकहरुको भनाई रहेको छ । गत बर्षको तुलनामा यस बर्ष अधिक तातो हावा लु चलेका कारण पनि गर्मिबाट जोगिन अहिले नेपाल भारत सिमा नजिकका सर्वसाधारणको मुख्य गन्तव्य नेपालगन्जका वाटरपार्क र पौडीपोखरी बनेका छन।
अत्याधिक गर्मी र’ लु’ बाट जोगिन नेपालगञ्जमा निर्माण गरिएका रंगशाला, वाटरपार्क र विभिन्न होटल रिर्सोट तथा अन्य स्थानमा निर्माण गरिएका स्विमिङ पुलमा ठुलो सङ्ख्यामा नेपाली तथा भारतीय पुग्न थालेका छन्।
गर्मी छल्नका लागि सीमापारि भारतका बहराईच, नानपारा, बाबागन्ज, मिहिपुरवा, कैसरगन्ज लगायत विभिन्न सहर र नेपालगन्ज, कोहलपुर तथा सो वरिपरिबाट आउनेहरुका कारण नेपालगञ्जका अधिकांश पौडीपोखरी र वाटरपार्क अहिले भरिभराउ छन्।
नेपालगन्जको बालेगाउँमा निर्माण गरिएको ‘मेरो प्लानेट’ नामक वाटरपार्कका सञ्चालक डा. ओम मिश्राले नेपाल र भारतका विभिन्न स्थानका विद्यार्थीदेखि महिला पुरुष सर्वसाधारणले गर्दा अहिले वाटरपार्क बिहानदेखि बेलुकासम्म भरिभराउ हुने गरेको बताए।
उनले अत्याधिक गर्मीका कारण वाटरपार्कमा नुहाउन आउनेहरू बढ्दै गएपछि कतिपयले त ठाउँ नपाएर फर्किने गरेको समेत बताए। डा. मिश्राले भारतबाट गर्मी छल्न भन्दै पौडि खेल्न आउनेहरूको सङ्ख्या बाक्लिएको स्विकार्छन।
वाटरपार्क बाहेक नेपालगन्ज रङ्गशालामा रहेको स्विमिङ पुल, खजुरा मिनी पार्कमा रहेको स्विमिङ पुल लगायत करिब दुई दर्जन भन्दा बढी होटलमा रहेका स्विमिङ पुल पनि गर्मी छल्नेहरूले भरिभराउ छन्।
स्विमिङ पुल र पौडि पोखरीमा पहुच नभएकाहरु भने स्थानिय मानखोला, डुडुवा खोला, राप्ति नदिमा जोखिमपुर्ण रुपमा पौडि खेल्ने र गर्मिवाट राहत लिने गरेको पाईए पनि यस अवधिमा पोखरीमा पौडि खेल्न गएकै कारण पौडिन नजान्ने करीव आधा दर्जन बाँकेवासिले आफनो अमुल्य जिवन समेत गुमाई सकेका छन ।
बाँकेमा जमिनमा रहेको पानीको सतह समेत घट्दै गएपछि घर आगनमा रहेका चापाकलबाट पानी नआउदा घर घरमा नुहाउने गरेका सर्वसाधारणहरुसमेत पानीको खोजिमा नजिकका नदिनालाहरुमा जानेक्रममा आफनो ज्यान गुमाएका हुन । यसरी ज्यान गुमाउनेहरुमा ७ बर्षका वालक देखि १७ बर्ष सम्मका वयस्कहरु रहेको प्रहरीको तथ्यांक रहेको छ ।