१३ मंसिर २०८१, बिहीबार

बेरुजु फछयौट गर्न उदासिन बाँकेका स्थानिय तह

कोहलपुर नगरपालिकाको अद्यावधिक बेरुजु रु ५० करोड ४१ लाख ८२ हजार

  • न्युज मानसराेवर

बाँके:बाँकेका स्थानीय तहहरूको अर्बौै बेरुजु प्रत्येक बर्ष थपिने गरेको छ । महालेखाको ६१ औं प्रतिवेदनमा पालिकाहरूको बेरुजु घट्ने भन्दा थपिंदै गएको तथ्य उजागर गरेको छ । बेरुजु थपिंदै जाँदा फस्र्यौटमा भने स्थानीय तह उदासिन रहेको अद्यावधिक बेरुजुको तथ्यांकले देखाउँछ । स्थानीय तहमा विभिन्न खालका बेरुजु हुने गरेका छन् । प्रमाण पेश गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेश्की तथा असुल गर्नुपर्ने बेरुजु महालेखाले औंल्याउने गरेको छ । बेरुजु फस्र्यौट नगर्दा अर्को बर्ष थपिंदै जाँदा बाँकेका स्थानीय तहको बेरुजु करोडौं रहेको छ ।

महालेखाको प्रतिवेदन अनुसार, आ.व. २०७९/८० सम्म नेपालगन्जको अद्यावधिक बेरुजु ९६ करोड नाघिसकेको छ । महालेखाले नेपालगन्ज उप महानगरपालिकाको आ.व. २०७८/०७९ सम्म रु.८० करोड ४२ लाख ४७ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९/८० सम्मको अद्यावधिक बेरुजु रु.९६ करोड ९८ लाख ४ हजार पुगेको उल्लेख गरेको छ ।

आ.व. २०७९/०८० मा मात्रै लेखापरीक्षणबाट रू.१६ करोड ७३ लाख ७२ हजार बेरुजु देखिएको थियो । उक्त बेरुजु मध्ये रु. १ करोड २६ लाख ८२ हजारको प्रतिक्रिया प्राप्त भएकोमा बाँकी बेरुजु असुल गर्नुपर्ने रू.४ करोड ६२ लाख ४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.२ करोड ९१ लाख ५४ हजार, नियमित गर्नुपर्ने रु.७ करोड ९८ लाख ६१ हजार र पेश्की बाँकी रु. १ करोड ५ लाख ३२ हजार रहेको छ ।

त्यस्तै, आ.व. २०७९/०८० समेत गरी जानकी गाउँपालिकाको अद्यावधिक बेरुजु २४ करोड ४८ लाख ९९ हजार पुगेको महालेखाले प्रतिवेदनमा औंल्याएको छ । आ.व. २०७९/०८० मा लेखापरीक्षणबाट रू. ४ करोड ३ लाख ७४ हजार बेरुजु देखिएको छ । उक्त बेरुजु मध्ये रु.२ लाख ८७ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सो उपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने रू.३५ लाख १८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ५० लाख ६७ हजार, नियमित गर्नुपर्ने रु.१ करोड ७३ लाख १२ हजार, पेश्की बाँकी रु ४१ लाख ९० हजार समेत गरी रु.४ करोड ८७ हजार बेरुजु कायम रहेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

गाउँपालिकाको गतवर्ष सम्मको सम्परिक्षण पश्चात रु. २० करोड ४८ लाख १२ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. २४ करोड ४८ लाख ९९ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, खजुरा गाउँपालिकाको रु.२३ करोड ३९ लाख ५ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९÷०८० सम्मको अद्यावधिक बेरुजु रु.२७ करोड ९८ लाख ९० हजार पुगेको महालेखाले औंल्याएको छ ।

आ.व. २०७९/०८० मा लेखापरीक्षणबाट रू.५ करोड ९८ लाख ४ हजार बेरुजु देखिएको छ । जसमध्ये रु.१ करोड ३८ लाख १९ हजार प्रतिक्रिया प्राप्त भएकोमा बाँकी बेरुजु बाँकी बेरुजु असुल गर्नुपर्ने रू.१६ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.६६ लाख ६३ हजार, नियमित गर्नुपर्ने रु.२ करोड ७८ लाख ६१ हजार र पेश्की बाँकी रु.९७ लाख ९४ हजार रहेको छ ।

नरैनापुर गाउँपालिकाको अद्यावधिक बेरुजु रु.२५ करोड ६६ लाख २३ हजार पुगेको छ । महालेखाका अनुसार आ.व. २०७९÷०८० अघि सम्म रु.१९ करोड ७० लाख ५२ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९/०८० मा थप भई २५ करोड ६६ लाख २३ हजार पुगेको हो ।

नरैनापुरको आ.व. २०७९/०८० को लेखापरीक्षणबाट रू.५ करोड ९५ लाख ७१ हजार बेरुजु देखिएको छ । जसमध्ये बेरुजु असुल गर्नुपर्ने रू.५१ लाख ९० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ३७ लाख ६ हजार, नियमित गर्नुपर्ने रु.३ करोड १३ लाख ३५ हजार र पेश्की बाँकी रु.९३ लाख ४० हजार रहेको छ ।

आ.व. २०७९/०८० सम्ममा नरैनापुर गाउँपालिकाको अद्यावधिक बेरुजु रु. ३४ करोड ८२ लाख ६८ हजार पुगेको छ । त्यसअघिको आ.व.मा रु. ३० करोड ८० लाख ५५ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९/०८० मा लेखापरीक्षणबाट रू. ५ करोड १८ लाख १९ हजार बेरुजु थपिएको हो । थपिएको बेरुजु मध्ये रु. १ करोड १६ लाख ६ हजारको प्रतिक्रिया प्राप्त भएको, बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ५१ लाख २८ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ७ लाख ३७ हजार, नियमित गर्नुपर्ने रु. २ करोड ३३ लाख ७९ हजार, पेश्की बाँकी रु ९ लाख ६९ हजार समेत गरी यस वर्ष रु. ४ करोड २ लाख १३ हजार बेरुजु कायम रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

आ.व. २०७९/०८० सम्म डुडुवा गाउँपालिकाको अद्यावधिक बेरुजु २५ करोड ७७ लाख ७७ हजार रहेको महालेखाले आफ्नो ६१ औं प्रतिवेदनमा उल्लेख छ । आ.व. २०७९/०८० लेखापरीक्षणबाट रू.६ करोड ७५ लाख २३ हजार बेरुजु देखिएको मा रु.६२ लाख ४५ हजार प्रतिक्रिया प्राप्त भएको महालेखाले जानकारी दिएको छ । डुडुवामा आ.व. २०७९/८० को मात्रै बाँकी बेरुजु असुल गर्नुपर्ने रू.७७ लाख ९९ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू.५६ लाख ३५ हजार, नियमित गर्नुपर्ने रु.३ करोड ९१ लाख ७३ हजार र पेश्की बाँकी रु.८६ लाख ७२ हजार रहेको छ । डुडुवा गाउँपालिकाको आ.व. २०७८/०७९ सम्म रु.१९ करोड ६४ लाख ९९ हजार बेरुजु बाँकी रहेकोमा त्यसपछिको आ.व.को समेत अद्यावधिक बेरुजु रु.२५ करोड ७७ लाख ७७ हजार पुगेको हो ।

आ.व. २०७९/०८० सम्म बैजनाथ गाउँपालिकाको अद्यावधिक बेरुजु २६ करोड ५६ लाख ५६ हजार पुगेको छ । उक्त आ.व. अघि १६ करोड ४३ लाख २९ हजार बेरुजु बाँकी रहेकोमा आ.व. २०७९/०८० लेखापरीक्षण पश्चात बेरुजु झन् थपिएको हो । आ.व. २०७९/०८० मा मात्रै लेखापरीक्षणबाट रू. १० करोड १३ लाख ५२ हजार बेरुजु देखिएको थियो । उक्त बेरुजु मध्ये रु. २५ हजारको मात्रै प्रतिक्रिया प्राप्त भएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । आ.व. २०७९/०८० मा बाँकी बेरुजु असुल गर्नुपर्ने रू. ५२ लाख २३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. २ करोड ८० लाख २० हजार, नियमित गर्नुपर्ने रु. ६ करोड ९ लाख ९६ हजार, पेश्की बाँकी रु ७० लाख ८८ हजार समेत गरी यस वर्ष रु. १० करोड १३ लाख २७ हजार बेरुजु कायम भएको थियो ।

त्यस्तै, कोहलपुर नगरपालिकाको आ.व. २०७९/०८० सम्मको आद्यावधिक बेरुजु रु. ५० करोड ४१ लाख ८२ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले आ.व. २०७९/०८० मा मात्रै लेखापरीक्षणबाट रू. १३ करोड ६६ लाख ५३ हजार बेरुजु देखिएकोमा रु. ३५ लाख ८१ हजारको मात्रै प्रतिक्रिया पाएको प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाको प्रतिवेदन अनुसार, कोहलपुर नगरपालिकाको आ.व. २०७९/०८० को मात्रै बाँकी बेरुजु असुल गर्नुपर्ने रू. १ करोड ७७ लाख ९१ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. ४ करोड ५८ हजार, नियमित गर्नुपर्ने रु. ५ करोड ३६ लाख ९० हजार, पेश्की बाँकी रु २ करोड १५ लाख ३३ हजार समेत गरी यस वर्ष रु. १३ करोड ३० लाख ७२ हजार बेरुजु कायम रहेको छ । नगरपालिकाको आ.व. २०७८/०७९ सम्म रु. ३७ करोड ११ लाख १० हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु रु. ५० करोड ४१ लाख ८२ हजार पुगेको हो ।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech