१३ मंसिर २०८१, बिहीबार

नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर
  • न्युज मानसराेवर

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । चालू आर्थिक वर्षमा सात वटा वडामा शिविर संचालन गर्ने लक्ष्य छ । वडा नम्बर ६, १२, १५, १७, १८, २२ र २३ मा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम बमोजिम आज वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट सुरुवात गरिएको छ ।

कान्ति आरोग्य अस्पताल नेपालगन्जको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा संचालित शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा प्रेषण गरिने स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नेपाल सरकारले क्यान्सर रोगका विरामीलाई उपचार खर्चका लागि एक लाख रुपैयाँ र लुम्बिनी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिँदै आएको छ । यस्तै विरामीलाई जिविकोपार्जनमा सहजताका लागि मासिक पाँच हजार रुपैयाँ दिने गरेको छ ।

वडा नम्बर २३ बाट सुरु भएको शिविर उद्घाटन कार्यक्रम वडा अध्यक्ष जबर अली बेहनाको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा बोल्दै खड्काले आफ्नो समस्या खुलेर बताउन महिलाहरुलाई आग्रह गरे । स्वास्थ्य महाशाखा प्रमुख चन्दले समयमै रोगको पहिचान, निदान र उपचारमा सहजताका लागि प्रत्येक वर्ष विभिन्न बस्तीहरुमा पाठेघरको मुखको क्यान्सर सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको बताए । वडा नम्बर २३ मा भेरी अस्पतालकी मेडिकल अधिकृत डा. समिक्षा चन्दले स्वास्थ्य जाँच गरेको स्वास्थ्य महाशाखाकी सिनियर अनमी निरीक्षक प्रेम कुमारी विसीले जानकारी दिइन् ।

  • २४ जेष्ठ २०८१, बिहीबार प्रकाशित

  • Nabintech