१८ माघ २०८१, शुक्रबार

विश्‍व घटना : सुरिनाम विमान दुर्घटनामा १७६ को मृत्यु
  • न्युज मानसराेवर

आज ७ जुन, विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

– सन् १९८९- सुरिनाम विमान दुर्घटनामा १७६ को मृत्यु

दक्षिण अमेरिका महादेशको उत्तरपूर्वी तटीय मुलुक सुरिनाममा आजकै दिन भएको विमान दुर्घटनामा १७६ जनाको ज्यान गएको थियो। राजधानी पारामारिबोस्थित विमानस्थलमा अवतरणका क्रममा ‘डीसी-८-६२’ विमान दुर्घटनामा परेको थियो। उक्त विमान नेदरल्यान्ड्सको आम्स्टर्डमबाट सुरिनाम पुगेको थियो। गलत नेभिगेसन सिग्‍नलमा विमान अवतरण गराउन खोज्दा दुर्घटना भएको थियो।

– सन् १९८१- इराकको परमाणु रियाक्टर इजरायलद्वारा ध्वस्त

सन् १९८१ मा आजकै दिन इजरायलले इराकको परमाणु रियाक्टर ध्वस्त बनाएको थियो। सम्भावित इराकी परमाणु बमको भयका कारण इजरायलले उक्त आक्रमण गरेको थियो। सोही कारण अरब मुलुकहरू इजरायलविरुद्ध खडा भएका थिए।

– सन् १९७५- पहिलो क्रिकेट विश्‍वकप शुरु

विश्‍वकप क्रिकेटको पहिलो सिरिज आजकै दिन शुरु भएको थियो। क्रिकेटको पहिलो विश्‍वकपको आतिथ्य इंग्ल्यान्डले गरेको थियो। यो अहिले विश्‍वको सर्वाधिक महत्त्वपूर्ण खेल इभेन्ट बनेको छ। पहिलो विश्‍वकप क्रिकेट च्याम्पियनको उपाधि वेस्ट इन्डिजले जितेको थियो।

– सन् १९६८- विश्‍वको पहिलो लेगोल्यान्ड रिसोर्ट खुला

सन् १९६८ मा आजकै दिन विश्‍वको पहिलो लेगोल्यान्ड रिसोर्ट खुलेको थियो। डेनमार्कको बिलुन्डमा खुलेको उक्त रिसोर्ट लेगो इन्टरलकिङ प्लास्टिक इँटाहरूमा आधारित ६ थिम पार्कमध्ये एउटा थियो। लेगो ग्रुपको हेडक्‍वार्टर पनि बिलुन्डमै छ।

– सन् १९२९- स्वतन्त्र मुलुक बन्यो भ्याटिकन सिटी

सन् १९२९ मा आजकै दिन भ्याटिकन सिटी स्वतन्त्र मुलुक बनेको थियो। इटालीको फासिवादी सरकारले ल्याटेरन सन्धि अनुमोदन गरेपछि भ्याटिकनले स्वतन्त्रता पाएको थियो।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech