८ असार २०८२, आईतवार

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख भट्टराई भ्रष्टाचार मुद्दामा दोषी
  • न्युज मानसराेवर

  बाँके: लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  उनले अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते दायर गरेको मुद्दामा विशेष अदालतले दुई महिनामै फैसला गरेको हो ।

इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए।

जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए। भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुष लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाएको छ।
भट्टराईलाई सजाय तोक्नका लागि बेग्लै सुनुवाइ हुनेछ। सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ। ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ। कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए। तर पछिल्लो पटक कोषको उपाध्यक्षमा ल्यारकल लामा आएपछि उनलाई हटाएर स्मिता भट्टलाई सो जिम्मेवारी दिइएको थियो । भट्टराई विकास कोषमा पदाधिकारी नहुँदा विभिन्न समयमा निमित्त भएर काम गरेका थिए ।

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech