१० मंसिर २०८१, सोमबार

कोहलपुर नगरपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्यरुपमा खोप लगाउनुपर्ने

  • न्युज मानसराेवर

कोहलपुर:कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले आज औपचारिकरुपमा कोहलपुरलाई पूर्ण खोप सुनिश्चिततता तथा दिगोपना घोषणा गरेका हुन् ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका चौधरीले सबै बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए । उनले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक प्रयासले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्न सम्भव भएको पनि उल्लेख गरे । स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा खोप रहेको औंल्याउँदै प्रमुख चौधरीले कतिपय समुदायमा अझै पनि खोपप्रतिको धारणा फरक रहेको भन्दै उनीहरुलाई पनि खोपको महत्व र आवश्यकताबारे बुझाउनुपर्ने बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले खोपको आवश्यकता र महत्वबारे अभिभावकहरुलाई नै बढी जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनले नियमित खोपका कारण जीवनको आयु लम्विने भएकाले त्यसको बारेमा आम अभिभावकहरुलाई जानकारी गराउनुपर्ने बताए । पूर्ण खोप घोषणामा स्वास्थ्यकर्मीको लगानीलाई कोहलपुर नगरपालिकाले मूल्यांकन गरेको पनि उल्लेख गरे । छुटेका बालबालिकाहरुले समेत खोप पाएकाले नगरपालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको उनको भनाई छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बालबालिकालाई विभिन्न १३ किसिमका खोप दिनुपर्ने र स्वास्थ्यमा पहिलो नम्बरको कार्यक्रम नै खोप कार्यक्रम भएको बताए । खोप नपाउने बच्चा अपांगता हुन सक्ने भएकाले अनिवार्यरुपमा खोप लगाउनुपर्ने उनको भनाई छ । खोप कार्यक्रम प्रभावकारी गराउनमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने प्रमुख शाहीले बताए । कोहलपुर नगरपालिकामा खोप लगाउन छुटेका २६ जना बालबालिकालाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले बताए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यकारी अधिकृत विक्रम पाण्डे, कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना, सामाजिक विकास समितिका संयोजक इश्वरी विक, वडा नम्बर २ मा रहेको स्वास्थ्य चौकीका इन्चार्ज लिला बहादुर बुढाथोकी, महिला स्वास्थ्य स्वयंसेविका भगवती बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १३ का वडा अध्यक्ष डम्वर खड्का, डब्लु.एच.ओ.का प्रतिनिधिहरु डा. प्रस्तुति शर्मा, सरला न्यौपाने, विभिन्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो । कोहलपुरसँगै अब बाँकेका ८ वटा पालिकामध्ये ४ वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । खजुरा, जानकी र बैजनाथ गाउँपालिका यसअघि नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।

  • ५ असार २०८१, बुधबार प्रकाशित

  • Nabintech