१३ मंसिर २०८१, बिहीबार

हावाहुरीका कारण कोहलपुर – नेपालगन्जका अधिकांस स्थानमा विद्युत अबरुद्ध

तिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:गत राति आएको हावाहुरीका कारण कोहलपुर, नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण कोहलपुर ,नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण कैयौँ स्थानहरूमा विद्युत्का पोलहरू ढलेको र दर्जनौँ स्थानहरूमा तारहरू चुँडिएका कारण कोहलपुर, नेपालगन्जका केही स्थानहरूमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

“गए राति पौने दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा विद्युत्का धेरै पोलहरू ढलेका छन्, दर्जनौँ तारहरू चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।” नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले भने ।

“राति देखिनै हामी विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमै छौँ, नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेका छौँ, अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ ।” उनले भने “बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेका छौँ ।”

चालु भएका दुई वटा सर्किटबाट नेपालगन्जका फुल्टेक्रा, बसपार्क, एयरपोर्ट फिडरको भाटभटेनी, न्यूरोड, बागेश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विद्युत् सुचारु भएको र बाँकी दुई वटा सर्किटबाट प्रसारण हुने सदरलाइन, सुर्खेतरोड, वोर्डर साइड, विपी चोकको पश्चिम क्षेत्रलगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा रहेको सुकेको रुखको हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरूलाई टुक्रा टुक्रा पारेर काट्ने काम भइरहेको छ । करिब २५ वटा पोलहरू ढलेको उनले बताए । “यकिन तथ्याङ्क अझै प्राप्त भइसकेको छैन, करिब २५ बढी पोलहरू भाँचिएको अनुमान छ, भाँचिएका पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ ।” ई. लामिछानेले भने ।

कोहलपुरका हवलदारपुर पिपिरी क्षेत्रमा समेत विद्युत अबरुद्ध भएको कोहलपुर वितरण केन्द्रले जनाएको छ । ती क्षेत्रमा विजुलीका पोलहरु ढलेर तारहरु चुडिएपछि विद्युत अबरुद्ध भएको हो मर्मत कार्य जारी रहेको कोहलपुर वितरण केन्द्रले जनाएको छ ।

 

 

  • ६ असार २०८१, बिहीबार प्रकाशित

  • Nabintech