डुडुवा,बाँके:बाँकेको डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपीडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपीडितलाई नगदसहित त्रिपाल, चाउचाउ, नमकिन, चिउरा, मिठाई र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु. दुई हजार वितरण गरिएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामग्री लिएर गएको टोलीले अग्निपीडितलाई राहत वितरण गरेको हो ।
अग्नीपिडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिएका थिए । उनीसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो ।
फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परिवारहरु गाउँपालिकाले निर्माण गरेको आश्रयस्थालमा बसिरहेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो । अग्नीपीडितहरुलाई जिल्ला विपद् समितिले राहत स्वरुप केही नगद वितरण गरेको थियो ।