१३ मंसिर २०८१, बिहीबार

बाँकेमा लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान
  • न्युज मानसराेवर

बाँके:भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन ल्याएको छ।

लागूऔषधविरुद्धको सो अभियान अन्तर्गत प्रहरीले यहाँस्थित नेपाल भारत नाका जमुनाहामा विशेष सतर्कता अपनाउनुका साथै विभिन्न नाका, बसपार्क र सार्वजनिक स्थलमा प्रहरी परिचालन गरेर चेकजाँचमा कडाइ सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले लागूऔषध नियन्त्रणका लागि चलाइएको विशेष अभियान अन्तर्गत तालिम प्राप्त कुकुरलाई परिचालन गरेर नेपालगन्जका विमानस्थल,बसपार्क लगायतका स्थानका चेकजाँच कडा पारिएको बताए ।

एक विशेष प्रहरी टोलीले तालिम प्राप्त कुकुरको माध्यमबाट नेपालगन्जस्थित राँझा विमानस्थलमा चेकजाँच गरेको वताउदै डिएसपी डाँगीले कुकुर सहितको सो टोलीले विमानस्थलमा आवागमन गर्ने यात्रुको सामान चेकजाँच गरेको जानकारी दिए ।

सोही प्रकारले तालिम प्राप्त कुकुरसहितको विशेष टोलीले नेपाल भारत नाकाको जमुनाहा र नेपालगन्ज बसपार्क क्षेत्रमा पनि लागूऔषध चेकजाँच गरेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

नेपाल भारत खुला सिमानाकै कारण सीमापारि रुपैडिहा लगायतका स्थानबाट लागूऔषध ब्राउनसुगर र विभिन्न प्रकारका अन्य लागूऔषध सहजरुपमै नेपालमा भित्रिने भएकोले नियन्त्रणमा समस्या आएको विभिन्न कार्यक्रममा पटकपटक बताइने गरिएको छ ।

नेपाल प्रहरीले भारतीय प्रहरीलाई सीमापारी लागूऔषध बिक्रीमा कडाई गर्न पटकपटक आग्रह गर्दा सकारात्मक जवाफ दिँदै आएको भारतीय प्रहरीले सीमापारि खासै कडाइ गरेको देखिँदैन ।

 

  • ७ असार २०८१, शुक्रबार प्रकाशित

  • Nabintech