जानकी,बाँके: जानकी गाउँपालिकाले शैक्षिक सत्र २०८० को एसईई परीक्षाको नतिजा विश्लेषण गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले २०८० को एसईई परीक्षाको नतिजा सन्तोषजनक नआएपछि सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग समीक्षा बैठक आयोजना गरेको हो ।
बैठकमा गाउँपालिका अध्यक्ष छब्बन खाँले शिक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको र शिक्षा सुधारको लागि प्रधानाध्यापकहरुले ठोस पहलीकदमी लिनुपर्ने बताए । वैठकमा एसईई परीक्षाको नतिजा सन्तोषजनक नआएपछि सबै माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग स्पष्टिकरण माग गरिएको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख कृष्णा कुमारी भण्डारीले बताइन् । साथै उक्त वैठकमा सबै सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकसँग लिखित स्पष्टिकरण माग गर्ने, ग्रेडवृद्धि परीक्षाको तयारीको लागि सबै सामुदायिक माध्यमिक विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग शिक्षक र शिक्षा शाखाको संयुक्त बैठक तत्काल बसी सिकाईको अवस्था पहिचान र सुधार गर्ने निर्णय गरिएको भण्डारीले बताइन् ।
त्यसै गरेर तहगत रुपमा सबै विद्यालयमा तहगत इन्चार्ज तोकी सक्रियरुपमा परिचालन गराउने, त्रैमासिक तथा अर्धवार्षिक परीक्षको नियमितरुपमा नतिजा विश्लेषण गरी विद्यार्थीहरुको सिकाईमा सुधार ल्याउन आवश्यक रणनीति तय र कार्यान्वयन गर्ने लगायतका निर्णय समेत गरिएको जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकी प्रमुख भण्डारीले जानकारी दिइन् ।
सामाजिक विकास समितिका संयोजक रामआचल धोवीको अध्यक्षता एवम् गाउँपालिका अध्यक्ष खाँको प्रमुख आतिथ्यतामा सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग उक्त वैठक बसेको थियो । उक्त वैठकमा सामाजिक विकास शाखाका प्रमुख जित वहादुर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख दल वहादुर राना, प्रा.स. झुमी कुमारी वलीको सहभागिता रहेको थियो ।