कोहलपुर,बाँके :दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पस्न शुरु गरेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो ।
नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको स्थानीयहरुले वताएका छन ।
शनिवार दिउँसो बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर डुबानमा परेका छन ।
राप्तीसोनारी –१ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरू पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । राप्तीको बाढी खतराको चिन्ह भन्दा माथि पुगेको छ ।
बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार वेलका ५: ५०बजेको रेकर्डअनुसार राप्ती नदीमा पानीको सतह ८ मिटर ०७ सेन्टिमिटर पुगेको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ७ मिटर पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रमा डुबान हुने गर्छ ।
पानीको सतहले खतराको बिन्दु पार गरेपछि अब केहि घण्टामा राप्तिको बाढी राप्तीसोनारी, डुडुवा र नरैनापुरका गाउँहरूमा पुग्ने र त्यहाँ धेरै गाउँ डुबानमा पर्ने खतरा बढेको छ । राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क गरेर सुरक्षित स्थानमा सार्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जनाएका छन
राप्तीमा आएको बाढि तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, खल्ला झगडिया, नरैनापुरको गङ्गापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया, चौफेरी, पाँझालगायतका गाउँमा बाढी पस्ने भएकाले सो क्षेत्रका स्थानीय त्रासमा छन् । ।